मार्मामा मातृभूमि लघुवित्त विवाद : किर्ते कागजात बनाएर लाखौ हिनामिना पुर्व कार्यालय प्रमुखकै सक्रियता

नागरिक पाना
२०८३ असार १९, शुक्रबार २०:०६

दार्चुला। मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेड को मार्मा गाउँपालिकामा सेवा प्रवाह गर्ने शाखाविरुद्ध किर्ते कागजात तयार गरी सदस्यहरूको जानकारी र सहमतिबिनै ऋण प्रवाह गरिएको, नक्कली पासबुक प्रयोग भएको तथा बचतकर्ताको लाखौं रुपैयाँ हिनामिना गरिएको भन्दै स्थानीयले गम्भीर आरोप लगाएका छन्।

स्थानीयका अनुसार गाउँपालिका केन्द्रबाट शाखा कार्यालय टाढा रहेको अवस्थाको दुरुपयोग गर्दै केही कर्मचारीले सदस्यलाई कुनै जानकारी नै नदिई नक्कली पासबुक र अन्य कागजात तयार गरी ऋण स्वीकृत गरेको आशंका गरिएको छ। एउटै व्यक्तिको नाममा लाखौं रुपैयाँको चेक जारी गरी रकम अपचलन गरिएको दाबीसमेत स्थानीयको छ। यद्यपि, यी आरोपहरूको आधिकारिक पुष्टि हुन बाँकी छ।

पीडित सदस्यहरूले आफूहरूले जम्मा गरेको बचत रकम पटक–पटक माग्दा पनि फिर्ता नपाएको गुनासो गरेका छन्। उनीहरूका अनुसार संस्थामा लामो समयदेखि आर्थिक चलखेलबिना ऋण नपाइने अवस्था रहेको छ भने केही कर्मचारीले नियमविपरीत चर्को ब्याजसमेत असुल्ने गरेको आरोप छ।

स्थानीयका अनुसार कतिपय सदस्यको उपस्थितिबिनै ऋण स्वीकृत गरी रकम वितरण गरिएको आशंका गरिएको छ। यसबारे सम्बन्धित शाखा प्रमुखलाई जानकारी गराउँदा समेत सदस्यलाई कुनै आधिकारिक सूचना नदिइएको आरोप लगाइएको छ। घटनाबारे इलाका प्रहरी कार्यालय मा उजुरीसमेत परेको स्थानीयको भनाइ छ।

विवाद चुलिएपछि सम्बन्धित शाखा प्रमुखको सरुवा गरिएको भए पनि स्थानीयले त्यसलाई दोषीमाथि कारबाही नभई संस्थाभित्रको कमजोरी ढाकछोप गर्ने प्रयासका रूपमा व्याख्या गरेका छन्। उनीहरूको आरोप छ—सरुवा गरेर जिम्मेवारीबाट उम्किन खोजिएको छ, तर बचतकर्ताको रकम फिर्ता गर्ने र वास्तविक दोषी पहिचान गर्ने विषयमा संस्था मौन देखिएको छ।

स्थानीयका अनुसार विवाद सार्वजनिक भएपछि सम्बन्धित कर्मचारीहरू नियमित रूपमा फिल्डमा जानसमेत छाडेका छन्, जसका कारण सेवाग्राही थप अन्योलमा परेका छन्। पीडितहरूले घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषी देखिने जोसुकैमाथि कानुनबमोजिम कारबाही गर्न, बचतकर्ताको रकम तत्काल सुरक्षित रूपमा फिर्ता गर्न तथा संस्थाको सम्पूर्ण वित्तीय कारोबारको विशेष लेखापरीक्षण (फोरेन्सिक अडिट) गर्न माग गरेका छन्।

स्थानीयले नेपाल राष्ट्र बैंक, सम्बन्धित सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई तत्काल अनुसन्धान अघि बढाई सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कानुनी कारबाही गर्न आग्रह गरेका छन्।