दार्चुला | हिजो रातिको अविरल वर्षासँगै आएको बाढीले दार्चुलाको मार्मा गाउँपालिका–४ अन्तर्गत मर्मती क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। नदीमा आएको उच्च बहावका कारण व्यापक किनार कटान भएको छ भने नदी आसपासका संरचना जोखिममा परेका छन्। बाढीपछि स्थानीयवासी त्रसित बनेका छन्।
स्थानीयका अनुसार प्रत्येक वर्ष वर्षायाममा यस क्षेत्रमा बाढी र नदी कटानको समस्या दोहोरिने गरे पनि यसको दीर्घकालीन समाधानतर्फ प्रभावकारी पहल हुन सकेको छैन। वर्षेनी दोहोरिने विपद्का कारण स्थानीय बासिन्दा र पूर्वाधार दुवै उच्च जोखिममा पर्दै आएका छन्।
स्थानीयवासीले नदी नियन्त्रणका लागि निर्माण गरिएको गेबियन (जाली पिल्लर) संरचनाको प्रभावकारितामाथि पनि प्रश्न उठाएका छन्। उनीहरूका अनुसार संरचनाको आधार प्राविधिक मापदण्डअनुसार चारदेखि पाँच मिटर गहिराइसम्म मजबुत बनाइएको भए अहिले भएको क्षति केही हदसम्म न्यूनीकरण गर्न सकिन्थ्यो।
स्थानीयको भनाइमा विकास निर्माणका काम सम्पन्न गर्नु मात्र पर्याप्त हुँदैन। निर्माणको गुणस्तर, प्राविधिक मापदण्ड तथा भविष्यमा आउन सक्ने प्राकृतिक विपद्को जोखिमलाई समेत मध्यनजर गर्दै दिगो र भरपर्दो संरचना निर्माण गरिनु आवश्यक छ।
यस घटनापछि प्रभावित क्षेत्रको तत्काल स्थलगत निरीक्षण गरी क्षतिको विस्तृत अध्ययन गर्न, आवश्यक सुधारका उपाय अवलम्बन गर्न तथा भविष्यमा यस्ता समस्या दोहोरिन नदिन प्रभावकारी र दीर्घकालीन नदी नियन्त्रण योजना कार्यान्वयन गर्न स्थानीयले सम्बन्धित निकायसँग माग गरेका छन्।
स्थानीयको सुरक्षा, पूर्वाधारको संरक्षण र सार्वजनिक लगानीको उचित सदुपयोग सुनिश्चित गर्न सम्बन्धित निकायले समयमै आवश्यक कदम चाल्नुपर्ने आवाज अहिले मर्मती क्षेत्रबाट उठिरहेको छ।

तपाईको प्रतिक्रिया !