
काठमाडौं । पूर्वमन्त्री बद्री न्यौपानेले आफ्नो राजनीति सिध्याउन प्रयास भइरहेको बताएका छन् ।
मंगलबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो कार्यकालका सबैलाई झूटो मुद्दा हालेर फसाइएको दाबी गरे।
न्यौपानेले विशेष अदालतको फैसलाउपर सर्वोच्च अदालतमा पूनरावेदन गर्नको लागि लागेको जरिवाना बुझाउनुपर्ने, कैदवापत दिनको रु तीन सय रुपैयाँ ले धरौटी वा बैंक ग्यारेन्टी दिनुपर्ने भन्ने कानूनी व्यवस्था रहेको उल्लेख गर्दै आफूसँग जरिवाना तिर्नसक्ने, धरौटी राख्न सक्ने वा बैंक ग्यारेन्टी दिनपनि सक्ने आर्थिक हैसियत नभएको बताएका छन् ।
उनले रुँदै भने, ‘सडकमा बसेको सुकुमवासी मान्छे मेरो केही उपाय छैन। मसँगै जग्गा छैन, बैंक ब्यालेन्स छैन र भाइको घरमा शरणार्थी बसेको छु । म न धरौटी राख्न सक्छु, न सर्वोच्च अदालतमा जाने हैसियतमा छु ।’
मन्त्री पदमा रहँदा भृकुटीमण्डप फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा दोषी ठहर गर्दै विशेष अदालतले न्यौपानेलाई ९ वर्ष ६ महिना कैद र २ करोड ४३ लाख ६८ हजार ८०३ रुपैयाँ ५० पैसा जरिवाना हुने फैसला सुनाएको थियो।