भ्रष्टाचारविरुद्ध कवि आक्रोस

नागरिक पाना
२०८० जेष्ठ १५, सोमबार २०:२८
bhastrachar birudh

बर्दिबास, १५ जेठ ।
‘सङ्घीयता यहीं , लोकतन्त्र यहीं ।
लुकेर र भुकेर लुट्ने सांसद र मन्त्री पनि यहीं ॥” महोत्तरीको बर्दिबासमा आज १६ औं गणतन्त्र दिवसका अवसरमा आयोजित भ्रष्टाचारविरुद्धको रचना वाचन कार्यक्रममा कमला साहित्य समाजका अध्यक्ष कवि गणेश तिमलसिना यतिमै रोकिनु भएन । तिमलसिनाले आफ्नो रचना वाचन अघि बढाउनुभयो ।
‘ठूला मेघा यहीं, पाँच एक्का यहीं ।

उजुरी काज मिलाउने अख्तियार, लेखा यहीं ॥’ भ्रष्टाचारविरुद्धका रचना वाचन गर्दा कविहरुले जनप्रतिनिधिलाई मात्र हैन, राज्यका बिभिन्न निकायलाई पनि व्यङ्गवाण हान्न छाडेनन् । ‘तपाईंको टोलमा भद्र भ्रष्टाचारी आउन सक्छन् , बाँसुरीमा मिठो धुनको गीत गाउन सक्छन् ।’ भाषण र कुरामा चिप्लो घस्ने भ्रष्टाचारीको पोल खोल्दै कवि तिमलसिनाले रचना वाचन गर्नुभयो । त्यसैगरी कवि भीमकुमार राउतले जताततै भ्रष्टाचार र कमिसनको बेथितिले गाँजेको आफ्नो रचनामा सुनाउनुभयो ।

‘समाज ध्वस्त, देश वर्वाद भ्रष्टाचार र कमिशनले, भ्रष्टाचारी छानीछानी पिंधमा आगो झोस्नुपर्छ ।’ प्रगतिशील लेखक सङ्घ (प्रले सङ्घ) महोत्तरीले आयोजना गरेको कार्यक्रममा जीवन स्पर्शी, प्रेम घिमिरे, रमा ढकाल, नानीराम दाहाल, सानीमायाँ पुलामी, नीरप्रसाद शर्मा, फुलगेन महतो, विपीराज दाहाल, सुरेन्द्र पोखरेल, दिनेश पौडेल, नारद काफ्ले , प्रतिमा पौडेल र जीवनराज दाहालसहितका कविले आफ्ना रचना वाचन गर्दै भ्रष्टाचारविरुद्ध सामाजिक ऐक्यबद्धताका लागि अपिल गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ महोत्तरी शाखाका कार्यवाहक अध्यक्ष सुनिता बरालले गणतन्त्र दिवसको अवसर पारेर कविहरुले अहिलेको मुख्य बेथितिमाथि प्रहार गर्नुभएको टिप्पणी गर्नुभयो । कार्यक्रम प्रले सङ्घ महोत्तरीका अध्यक्ष नारायण घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।