जनकपुरधाम आउँदै भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ


छिमेकी मुलुक भारत उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आउनुहुने भएको छ। जनकपुरधाममा आयोजन हुन लागेको रामायण काँन्क्लेवको उद्घाटनमा सहभागी हुनको लागि योगी आदित्यनाथ जनकपुरधाम आउन लागेको जनाइएको छ ।

शनिवार जनकपुरधाममा काँन्क्लेवको समुद्घाटनको कार्यक्रम रहेको छ । मुख्यमन्त्री योगी आदित्यनाथ तीन वर्ष पहिला सीताराम विवाह महोत्सवमा सहभागी हुन जनकपुरधाम आउनुभएको थियो। मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री लालबाबु राउतको आमन्त्रणमा मुख्यमन्त्री योगी विवाह महोत्सवमा सहभागी हुनुभएको थियो । भारतको उत्तर प्रदेश सरकारको पर्यटन विभागको आयोजनामा जानकी जन्मभूमि जनकपुरधाममा यसै हप्ता अन्तर्राष्ट्रिय रामायण काँन्क्लेवको आयोजना हुन लागेको छ ।

भारत सरकारको रामायण सर्किट अन्तरगतको मार्गमा जनकपुरधाम पनि समावेश छ । उत्तर प्रदेशको पर्यटन संस्कृति विभाग, जानकी मन्दिर र जनकपुरधामको संयुक्त आयोजनामा हुन लागेको दुई दिवसीय काँन्क्लेवमा उत्तर प्रदेश राज्यका मन्त्रीहरू पनि आउने बताइएको छ । उत्तर प्रदेशको अयोध्या र जनकपुरधामबिच त्रेतायुगकालीन सम्बन्ध रहेको छ । त्रेता युगमा भगवान् रामले भगवान् शिवको धनुष (पिनाक)लाई भंग गरेपछि मिथिलाकी युवराज्ञी सीतासित विवाह सम्पन्न भएको थियो ।

भारत सरकारले रामायणमा आधारित धार्मिक, सांस्कृतिक महत्त्व भएका स्थलहरूलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न रामायण सर्किट बनाएको छ ।रामायण सर्किटको प्रमुख स्थानहरू मध्ये जनकपुरधाम र धनुषा धाम एक हो । विश्वव्यापी मर्यादा पुरुषोत्तम राम अन्तर्राष्ट्रिय रामायण काँन्क्लेव जनकपुरधाम समेत भारतको ६ राज्य र श्रीलङ्कामा समेत गरी १० स्थानमा आयोजना गरिनेछ ।

जनकपुरधाममा पुसको ६ र ७ गते जानकी मन्दिर परिसरमा काँन्क्लेवको आयोजना हुनेछ । काँन्क्लेवमा भजन सम्राट् पद्म श्री अनुप जलौटाको भजन सन्ध्या कार्यक्रम हुनेछ । मिथिला नाट्यकला परिषद्ले जानकी लीला र मथुराको बमर सिया र धोबियाले लोकनृत्य प्रस्तुत गरिने कार्यक्रम राखेको छ


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको