लोकतान्त्रिक समाजवादी पार्टी नेपाल निकट लोकतान्त्रिक विद्यार्थी संघका महासचिव सुमन यादवले विद्यार्थी संगठनलाई शैक्षिक मुद्दामा केन्द्रित गर्दै रचनात्मक र सिर्जनात्मक आन्दोलन अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।
त्रिभुवन विश्वविद्यालयमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफ्नो संगठनको सक्रियता र सफलतालाई उल्लेख गर्दै यादवले विद्यार्थी समस्यालाई समाधान गर्न र उनीहरूको हकअधिकारलाई सशक्त बनाउन थप क्रियाशील हुनुपर्ने बताउनुभयो।
महासचिव यादवले वर्तमान राजनीतिक अस्थिरताका बीच विद्यार्थी संगठनले वैचारिक र राजनीतिक रूपमा बलियो बन्नका लागि पार्टी नेतृत्वसँग समन्वय गर्दै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “हामी समाजका जल्दाबल्दा विषयलाई सरोकारको विषय बनाउँदै रचनात्मक र सिर्जनात्मक संघर्षलाई अघि बढाउने छौं।”
देशभरका क्याम्पसहरूमा विद्यार्थीका समस्याहरू संकलन गरी तिनको समाधान गर्ने अभियानमा जुट्न सबै तहका संगठनका नेताहरूसँग उहाँले आग्रह गर्नुभयो। साथै, विद्यार्थीका पीडा, अन्याय, र समस्यालाई प्राथमिकतामा राखेर उनीहरूको हकअधिकारलाई प्रोत्साहन गर्न संगठनले निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
लोकतान्त्रिक विद्यार्थी संघ आगामी दिनमा झन् सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले केन्द्रदेखि इकाइसम्मका सबै कमिटीलाई सक्रिय बनाउन महासचिव यादवको आह्वान छ।
तपाईको प्रतिक्रिया !