
कैलाली/ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय नारायणपुरद्वारा आयोजित वित्तीय साक्षरता कार्यक्रम तथा Global Money Week 2025 को अवसरमा टिकापुर-७, सत्ती बजारमा भव्य कार्यक्रम सम्पन्न भयो।
संस्थाको Digital Bus मार्फत गरिएको कार्यक्रममा संस्थामा आवद्ध सदस्य, अभिभावक, बुद्धिजीवी, सुरक्षाकर्मी, Three Zero Club का विद्यार्थीहरू, युवा तथा स्थानीय व्यक्तिहरू गरी करिब ८०-९० जनाको उपस्थिती रहेको थियो।
कार्यक्रमको अध्यक्षता शाखा प्रबन्धक कमला चौधरी ले गर्नुभएको थियो भने प्रमुख अतिथि अनुगमन प्रमुख तपेन साउद रहनुभएको थियो।
कार्यक्रममा प्रशिक्षक बुधराम महतो ले पारिवारिक बजेट व्यवस्थापन, बचतको सदुपयोग, ऋणको प्रभावकारी व्यवस्थापन, वित्तीय सचेतना तथा आत्मनिर्भरताको आवश्यकता जस्ता महत्वपूर्ण विषयमा प्रशिक्षण दिनुभयो।
कार्यक्रमलाई वृत्तचित्र प्रदर्शन, अडियो-भिडियो सामग्री, छलफल विधि तथा प्रोजेक्टरको प्रयोग गरी प्रभावकारी बनाइएको थियो। सहभागीहरूले बचत गर्ने व्यवहार, ऋणको सही व्यवस्थापन, पारिवारिक खर्च नियन्त्रण तथा दीर्घकालीन आर्थिक योजनाबारे व्यावहारिक ज्ञान लिएका थिए।
सत्ती बजारमा बिहान १०:०० देखि ११:०० बजेसम्म वित्तीय सचेतना सम्बन्धी भव्य र्याली प्रदर्शन गरियो।
र्यालीमा Three Zero Club का विद्यार्थीहरू, युवाहरू, सुरक्षाकर्मी, बुद्धिजीवी, अभिभावक, लघुवित्तका सदस्य तथा संस्थाका कर्मचारीहरूको सक्रिय सहभागिता थियो। सहभागीहरूले बचत, वित्तीय अनुशासन, ऋणको सही प्रयोग तथा आर्थिक आत्मनिर्भरताको महत्त्वबारे जनचेतना फैलाउने सन्देशसहित नारा लगाएका थिए।
कार्यक्रममा सहभागी स्थानीय व्यक्तिहरूले यस्ता सचेतना कार्यक्रमहरूले आर्थिक निर्णयहरू लिने क्षमतामा सुधार ल्याउने, बचत गर्ने बानीको विकास गर्ने तथा ऋणको सही उपयोग गर्न सहयोग पुग्ने बताएका छन्।छिमेक लघुवित्त वित्तीय संस्थाले यस्ता कार्यक्रमहरू ग्रामीण भेगमा निरन्तर सञ्चालन गर्दै आइरहेको छ। संस्थाले आगामी दिनहरूमा पनि Digital Bus को माध्यमबाट वित्तीय साक्षरतासम्बन्धी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना बनाएको छ।