युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता : प्रधानमन्त्री ओली


काठमाडौँ, प्रधानमन्त्री केपी ओली ले देशका युवाहरूलाई उद्यमशील बनाउन तथा स्वरोजगारको अवसर सिर्जना गर्न स्टार्टअप ऋण सहायता प्रदान गरिने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओली ले कम्तीमा पाँच सय उद्यमीलाई सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गरिने जानकारी दिए। उनका अनुसार सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न र स्टार्टअपमा आधारित उद्यमशीलता विकास गर्न सरकार विशेष योजना अघि बढाइरहेको छ। यस कार्यक्रमका लागि इच्छुक प्रस्तावकहरूबाट छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको उनले उल्लेख गरे।

प्रधानमन्त्री ओलीले स्वदेशमै उत्पादन तथा उत्पादकत्व विस्तार गर्दै आन्तरिक रोजगारीको दिगो आधार तयार गर्ने उद्देश्यले सरकारले हालै राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन सम्पन्न गरेको जानकारी गराए। साथै, उनले विश्वव्यापी रूपमा कुनै पनि देशका नागरिकहरू रोजगारी, व्यवसाय वा अध्ययनका लागि विदेश जाने परिपाटी रहेको उल्लेख गर्दै यसलाई पूर्ण रूपमा नकारात्मक रूपमा नबुझ्न आग्रह गरे।

‘देशका युवा बाहिरिए भनेर नकारात्मक धारणा बनाउनु उचित होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘हिजो जीवन निर्वाहका सीमित विकल्प थिए, तर आज त्यो फराकिलो बनेको छ। हाम्रा युवाहरूले विश्वभर अवसर खोजिरहेका छन्, तर यसको अर्थ सरकार स्वदेशमै रोजगारी सिर्जना गर्ने दिशामा निष्क्रिय छ भन्ने होइन।’

उनले “यो देश बन्दैन, यहाँ केही हुँदैन” भन्ने नकारात्मक सोच हटाउनुपर्ने आवश्यकता रहेको भन्दै युवाहरूलाई स्वदेशमै उद्यमशील बनाउन सरकारले योजनाबद्ध कार्यक्रम अघि बढाइरहेको बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको