काठमाडौं । नेपाल आयल निगमले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने भएको छ। निगमको चैत ४ गते बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो।
निगमको तथ्याङ्क अनुसार हाल निगमको चुक्ता पुँजी ११ अर्ब रुपैयाँ रहेको छ। सोही आधारमा निगमले सेयरधनीहरूलाई १ अर्ब १० करोड रुपैयाँ बराबरको लाभांश वितरण गर्नेछ।
लाभांश प्रस्ताव पारित गर्न निगमले चैत २९ गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाकक्ष सिंहदरबारमा अपरान्ह १ बजे ४३औं वार्षिक साधारण सभा आह्वान गरेको छ। उक्त सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा तथा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण अनुमोदन गर्नेछ।
त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न महालेखा परीक्षकको कार्यालयबाट प्राप्त परामर्श अनुसार लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने निर्णय गर्नेछ। साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक/एक जना प्रतिनिधि तोक्ने निर्णय समेत गरिनेछ।
यसअघि, नेपाल आयल निगमले आर्थिक वर्ष २०७६/७७ मा सेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश वितरण गरेको थियो।

तपाईको प्रतिक्रिया !