
काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसँग सम्बन्धित मुद्दामा उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन्।
शुक्रबार कानुनी टोलीसहित अदालत पुगेका लामिछानेले काठमाडौँ जिल्ला अदालतको धरौटीमा छाड्ने आदेश बदर गर्न माग गर्दै पुनरावेदन दर्ता गरेका हुन्। उनले फौजदारी कार्यविधि संहिताको दफा ६८ अन्तर्गत धरौटीमा छाड्ने आदेश बदर गरी दफा ६९ अनुसार साधारण तारेखमा बस्न पाउने व्यवस्था हुनुपर्ने माग गरेका छन्।
गत माघ २ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। लामिछानेले उक्त आदेशप्रति असन्तुष्टि जनाउँदै उच्च अदालत पाटनमा पुनरावलोकनको निवेदन दर्ता गराएका हुन्।