काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई क्रान्तिका लागि तयार रहन आग्रह गरेका छन्।
शुक्रबार आफूविरुद्धको काठमाडौँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दर्ता गरेर बाहिरिने क्रममा उनले सरकारप्रति आक्रोश व्यक्त गर्दै जनतालाई संघर्षका लागि तयारी अवस्थामा रहन आग्रह गरेका हुन्।
‘म यही सरकारको लाज छोप्नका लागि अदालत धाइरहेको छु,’ लामिछानेले भने, ‘यो सरकारको लाज छोप्नु छ। ठाउँठाउँमा पुग्नुपर्ने छ। समय आउँदैछ चाँडै नै। म सबैलाई तयार रहनका लागि भन्न चाहन्छु, गेट रेडी फर द रेभोलुशन!’
उनको यस अभिव्यक्तिलाई राजनीतिक रुपमा विविध तरिकाले व्याख्या गर्न थालिएको छ। केहीले यसलाई सरकारविरुद्धको कडा चेतावनीका रूपमा हेरेका छन् भने अरूले लामिछानेको राजनीतिक रणनीतिको एक हिस्सा भन्दै विश्लेषण गरेका छन्।

