
काठमाण्डौं / पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिका अध्यक्ष डा. बाबुराम भट्टराईले राणा र राजाहरूको शासनकालमा अहिलेभन्दा तीन गुणा बढी भ्रष्टाचार भए पनि बन्द व्यवस्थाका कारण जनतासम्म गलत कार्यहरू पुग्न नदिइएको बताएका छन्।
शनिबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, “राजा र राणाहरू कुटिल थिए। उनीहरूका गलत कामहरू जनतासम्म पुग्नै दिँदैनथे।” त्यतिबेला भ्रष्टाचार लुकाउन नागरिकहरूलाई शिक्षाबाट बञ्चित गरिएको उनले आरोप लगाए।
भट्टराईका अनुसार शिक्षा नै सीमित व्यक्तिहरूका लागि मात्र उपलब्ध गराइएकाले नागरिकहरूलाई राज्यका गतिविधिबारे थाहा हुने स्थिति थिएन। उनले भने, “त्यतिबेला जनतालाई शिक्षित नै गराइएन। अहिले जनता पढ्न-लेख्न सक्छन्, जसका कारण अन्यायबारे बोल्न सक्ने भएका छन्।”
‘राजतन्त्र भूत हो’
राजतन्त्रलाई “भूत र भ्रम” को संज्ञा दिँदै उनले अब पछाडि फर्कन नहुने धारणा व्यक्त गरे। “राजतन्त्र भूत हो— भूत भ्रम हो। यस्तो भ्रम बोकेर हिंड्नेहरू काल्पनिक सपनामा बाँच्छन्, जसको वास्तविक संसारसँग कुनै सम्बन्ध छैन,” उनले भने।
लोकतन्त्रको रक्षा सबै मिलेर गर्नुपर्नेमा जोड दिँदै भट्टराईले मधेशलगायतका उत्पीडित समुदायहरू अब सचेत भइसकेकाले उनीहरूलाई फेरि छलकपट गर्न कठिन हुने बताए। “हामी पछाडि फर्किने कुरा हुँदैन्। मधेशलगायत उत्पीडित समुदायहरू अब जागिसकेका छन्,” उनले भने।
डा. भट्टराईले लोकतन्त्रलाई अझ सशक्त बनाउन जनताले निरन्तर सचेत रहनुपर्ने समेत उल्लेख गरे।