नेपालको समृद्धिका लागि अर्थतन्त्र सुधार अनिवार्य – उपाध्यक्ष ढकाल


टीकापुर,– नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल ले जुनसुकै शासन व्यवस्था भए पनि अर्थतन्त्रको सुधार बिना देश समृद्ध नहुने बताएका छन्।

शनिबार टीकापुरमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको आठौं प्रदेश सभा लाई सम्बोधन गर्दै उनले अर्थतन्त्र बलियो भएमा शासन प्रणालीले खासै फरक नपर्ने धारणा व्यक्त गरे।

आर्थिक संकटका प्रमुख कारण

उनका अनुसार कोभिड-१९ महामारीले नेपालसहित विश्वभरकै अर्थतन्त्रमा गम्भीर असर पारेको छ। उनले नीतिगत कमजोरी, भ्रष्टाचार र कानून कार्यान्वयनको अभाव समेत नेपालको आर्थिक अवस्था धराशायी हुनुका कारण भएको बताए।

ढकालले अनुत्पादक क्षेत्रमा लगानी वृद्धि भइरहेकै बेला बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर दोब्बर पारेर व्यवसायीहरूलाई संकटमा पार्नु गलत भएको आरोप लगाए।

राष्ट्र बैंकप्रति असन्तुष्टि

उनले राष्ट्र बैंकको लापरबाहीले आर्थिक संकट निम्त्याएको दाबी गर्दै, नीतिगत सुधारका लागि छलफल भइरहेको जानकारी दिए। हालसम्म ८ वटा कानून संशोधन भइसकेको र २९ वटा कानून संशोधन प्रक्रियामा रहेको उनले उल्लेख गरे।

प्रदेश सभाको निर्णयहरू

प्रदेश सभाको बन्दसत्रले कोषाध्यक्ष लालमणी पन्तद्वारा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को १८ लाख १४ हजार ६३३ रुपैयाँको आयव्यय विवरण तथा कार्यकारी निर्देशक ज्योति भट्टद्वारा प्रस्तुत प्रगति प्रतिवेदन अनुमोदन गरेको छ।

समारोहमा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटा, कानूनी सल्लाहकार वीरबहादुर जेठारा, पूर्वकेन्द्रीय सदस्य हेमराज गिरी, लम्की उद्योग वाणिज्य संघका अध्यक्ष पदम चौलागाईं र टीकापुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नवराज रावल ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको