
काठमाडौँ,– पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सरकारले भ्रष्टाचारमा लिप्त व्यक्तिलाई ऊर्जामन्त्री बनाएको भन्दै कडा आलोचना गरेका छन्।
चितवनमा आयोजित जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्गतको जागरण सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसका नेता दीपक खड्का लाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनाउनु गलत निर्णय भएको बताएका हुन्।
‘भ्रष्टाचारीलाई मन्त्री, योग्यलाई बञ्चित’
उनले सरकारले योग्य व्यक्तिहरूलाई नजरअन्दाज गर्दै भ्रष्टाचारमा लिप्तहरूलाई जिम्मेवारी दिएको आरोप लगाए।
‘राष्ट्रपतिले स्वास्थ्यमन्त्रीमा स्वास्थ्यसम्बन्धी ज्ञान भएको मान्छेलाई बनाउन पाउनुपर्यो, शिक्षामन्त्री शिक्षासम्बन्धी राम्रो ज्ञान भएको मान्छेलाई बनाउन पाउनुपर्यो। तर अहिले भएको के छ? मन्त्रीका अनुहार मात्रै हेरियो भने पनि, जो सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त छ, उसैलाई ऊर्जामन्त्री दिइएको छ। अझै लुट भनेर!’ – प्रचण्ड
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा प्रचण्ड
प्रचण्डले सरकारले राम्रो काम गर्नेहरूलाई दबाउने प्रयास गरिरहेको आरोप लगाए। उनले देशमा स्थायित्व, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली आवश्यक रहेको बताए।
‘यदि प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपति व्यवस्था भयो भने विज्ञहरू मन्त्री बन्नेछन्, विश्वविद्यालयका प्राध्यापकहरू मन्त्री हुन थाल्नेछन्। अनिमात्रै देशमा स्थिरता, विकास र सुशासन स्थापित हुन्छ।’
प्रचण्डले योग्य र सक्षम व्यक्तिहरूलाई निर्णय प्रक्रियामा ल्याउनुपर्ने उल्लेख गर्दै हालको प्रणालीले भ्रष्टाचारलाई प्रश्रय दिइरहेको टिप्पणी गरे।