नागरिक उन्मुक्ति र जनमत पार्टी एकीकरणका लागि कार्यदल गठन


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले जनमत पार्टीसँग एकीकरण गर्न तीन सदस्यीय कार्यदल गठन गरेको छ। काठमाडौंमा सम्पन्न दुई दिने केन्द्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभा सदस्य गंगाराम चौधरीको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा सुनिता चौधरी र रामलाल डंगौरा सदस्य रहेका छन्।

यसअघि, फागुन अन्तिम साता बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले नाउपासँग एकीकरणका लागि कार्यदल बनाएको थियो। सो कार्यदलमा प्रतिनिधिसभा सदस्य अब्दुल खान संयोजक तथा डा. शरदसिंह यादव र बालगोविन्द चौधरी सदस्य रहेका छन्।

सहमतिमै एकता आवश्यक

नाउपाको केन्द्रीय कार्यसमिति बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत विशेष अतिथिका रूपमा सहभागी भएका थिए। उनले थारु समुदायको पहिचानसमेत रहेको ढकिया चिन्हलाई गर्व गर्न लायक बनाउन प्रतिबद्धता जनाए। “तपाईंहरूको सहमति बिना यो एकता सम्भव छैन। सबैको सहमति र सम्मानले मात्रै हामी अन्तरमनदेखि एक हुन सक्छौं। तपाईंहरूलाई म वाचा गर्छु, ढकियामै गर्व गर्नसक्ने पार्टी बनाउँछौं,” उनले भने।

नाउपाका संरक्षक रेशम चौधरीले पार्टी एकीकरणलाई मनबाटै स्वीकार गर्नुपर्ने बताए। उनले अध्यक्ष राउतलाई विपक्षी सिटमा बस्न तयार हुन आग्रह गर्दै भने, “न्याय पाएनौं भने डा. साप संसद भवनको विपक्षीको सिटमा बस्नुपर्ने हुनसक्छ। मन्त्री पद छोडेर सडकमा आउनुपर्ने हुनसक्छ।”

एकता निश्चित भएको दाबी

बैठकपछि सञ्चारमाध्यमसँग कुरा गर्दै जनमतका अध्यक्ष सीके राउतले दुई पार्टीबीचको एकता लगभग निश्चित भएको दाबी गरे। “बैठकमा निकै राम्रो माहोल देखें। दुई पार्टीबीच एकता हुने सम्भवतः निश्चित भएको छ,” उनले भने।

राउतले आफू र रेशम चौधरीबीच कुनै पदीय स्वार्थ नभएकाले पार्टी संरचनामा विवाद नहुने उल्लेख गरे। “म र रेशमजीमा कुनै स्वार्थ छैन। हामी दुवै जना पदबाट धेरै टाढा छौं। जनताबाट उठेका पार्टी भएकाले हामीबीच कुनै विवाद हुँदैन,” उनले थपे।

यससँगै, नागरिक उन्मुक्ति र जनमत पार्टीको सम्भावित एकीकरणले मुलुकको राजनीतिक परिदृश्यमा नयाँ मोड आउने आँकलन गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको