क्षयरोग न्यूनीकरणका लागि प्रभावकारी नीति आवश्यक: मन्त्री पौडेल


भक्तपुर — स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्षयरोग न्यूनीकरणका लागि सरकारले प्राथमिकता बदल्दै प्रभावकारी ढङ्गले अघि बढ्नुपर्ने बताएका छन्। सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले क्षयरोग नियन्त्रणका लागि मित्रराष्ट्रसँग सहकार्य गर्ने साझा नीति अवलम्बन गर्न जरुरी रहेको उल्लेख गरे।

मन्त्री पौडेलका अनुसार क्षयरोग नियन्त्रणका लागि बजेट खर्च भए पनि सोचेअनुरूप उपलब्धि हासिल हुन सकेको छैन। उनले भने, ‘अहिलेसम्मका प्राथमिकता बदलेर नयाँ र प्रभावकारी ढङ्गले अघि बढ्नुपर्छ। खुला सीमानाले समस्या बढाएको छ। मित्रराष्ट्रसँग सहकार्य गरी निदानका लागि साझा नीति बनाउनुपर्छ। खर्च भइरहेको छ, तर शतप्रतिशत उपलब्धिका लागि नीतिगत व्यवस्था जरुरी छ।’

उनले क्षयरोग केन्द्रमा सबै सेवा उपलब्ध हुने गरी अस्पताल सञ्चालन गर्नुपर्ने बताउँदै आगामी आर्थिक वर्षको बजेटमा त्यसको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गरे। ‘क्षयरोगमुक्त पालिका घोषणाका लागि १४९ पालिका तोकेका छौँ, तर यो कुल पालिकाको पाँच भागको एक भाग मात्र हो। बाँकी ७५३ पालिकालाई कसरी अघि बढाउने भन्ने स्पष्ट नीति आवश्यक छ।’

मन्त्री पौडेलले क्षयरोगीलाई मन्त्रालय वा चिकित्सकले नभई स्थानीय तहले खोज्नुपर्ने बताउँदै, यसका लागि पालिकाहरूलाई अझ सक्रिय बनाउनुपर्नेमा जोड दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको