एसइई परीक्षामा ‘ह्वाट्सएप’ प्रयोग गरी चिट चोराउने दुई गार्ड पक्राउ


काठमाडौं, ११ चैत – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मोबाइल एप ‘ह्वाट्सएप’ प्रयोग गरी चिट चोराउने गतिविधि भएको खुलासा भएको छ। सुनसरी सदरमुकाम इनरुवा–९ स्थित सरस्वती मावि परीक्षा केन्द्रमा गणित विषयको परीक्षा चलिरहेका बेला ‘ह्वाट्सएप’ मार्फत चिट चोर्न सहयोग गर्ने दुई जना गार्डलाई रंगेहात पक्राउ गरिएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) धर्मेन्द्रकुमार मिश्रका अनुसार पक्राउ परेका शिक्षक श्रवणकुमार चौधरी र रमानन्द मेहतालाई परीक्षा गार्डबाट निष्कासन गरिएको छ। उनीहरू मोबाइलमार्फत परीक्षार्थीको नाम, सिम्बल नम्बर तथा बोर्डिङ स्कुलको नामसहितको विवरण ‘ह्वाट्सएप’ च्याटमा पठाएर उत्तर दिने कार्यमा संलग्न थिए।

यस्तै, इनरुवा–१ स्थित भगवती मावि परीक्षा केन्द्रमा समेत चिट चोराउने कार्यमा संलग्न तीन निरीक्षकलाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा इनरुवा–५ का मुकेन्द्र यादव, रमानन्द यादव र दिनेशप्रसाद यादव रहेका छन्। सुनसरीका प्रहरी उपरीक्षक सुमन तिम्सिनाका अनुसार उनीहरू परीक्षा हलबाट प्रश्नपत्र बाहिर पठाई उत्तर लेखेर पुनः भित्र पठाउने कार्यमा संलग्न थिए।

यसैबीच, सुनसरी प्रशासनले परीक्षा केन्द्रमा मोबाइल प्रयोग रोक्न थप कडाइ गर्ने निर्णय गरेको छ। अघिल्लो दिन मात्रै दुहवी परीक्षा केन्द्रमा जनही १० हजार रुपैयाँ लिएर चिट चोराउने दुई गार्डलाई निष्कासन गरिएको थियो।

प्रजिअ मिश्र नेतृत्वको टोलीले परीक्षा केन्द्रहरूमा अनधिकृत गतिविधि नियन्त्रण गर्न निगरानी बढाएको छ। परीक्षालाई मर्यादित, भयरहित र व्यवस्थित बनाउन सबै केन्द्राध्यक्षलाई आवश्यक निर्देशन तथा सचेत गराइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको