काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले लोडसेडिङको अन्त्यका लागि आफ्नो नेतृत्वको सरकारले कुलमान घिसिङलाई प्राधिकरणको प्रमुखमा नियुक्त गरेको स्मरण गराउँदै वर्तमान सरकारको निर्णय आपत्तिजनक रहेको बताएका छन्।
उनले लेखेका छन्, “देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। हाम्रो नेतृत्वको सरकारको योजना अनि उहाँको विज्ञता र क्षमताबाट उज्यालो नेपाल निर्माण गर्न सफलता मिलेको जन–जनमा जानकारी छ।”
उनका अनुसार, प्राधिकरणको बक्यौता रकम उठाउने विषयमा कुलमान घिसिङलाई अन्याय गर्दै पटक–पटक स्पष्टीकरण सोधिएको थियो। सरकारको पछिल्लो निर्णय गलत मात्र नभई जनताको हितविपरीत रहेको उनको धारणा छ।
प्रचण्डले सरकारको यो कदम दुई तिहाइ बहुमतको दम्भमा आएको भन्दै घोर निन्दा गरेका छन्। साथै, उनले सरकारको निर्णयको प्रतिरोध गर्नसमेत सबैलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया !