
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने सरकारको निर्णयप्रति सर्वत्र विरोध भइरहेको छ। राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले सरकारको कदमको आलोचना गर्दै कुलमान घिसिङको नेतृत्वमा देशभर लोडसेडिङ अन्त्य भएको स्मरण गराएका छन्।
प्रमुख प्रतिपक्षी दलका नेताहरूले कुलमानलाई हटाउने निर्णय गलत भएको बताइरहेका छन्। पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जालमार्फत सरकारको निर्णयको विरोध गर्दै कुलमानको नेतृत्वमा नेपाल उर्जा आत्मनिर्भर बन्दै गएको बताउँदै सरकारले आफ्नो निर्णय पुनर्विचार गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत मौन विरोध जनाएका छन्। उनले मध्यराति फेसबुक लाइभमा आएर केही नबोली मैनबत्ती बालेर प्रतिकात्मक सन्देश दिएका थिए। साथै, उनले “कसलाई राख्ने, कसलाई हटाउने भन्ने अन्तिम निर्णय त जनताले लिन्छन्!!” भन्दै सरकारको निर्णयप्रति असहमति जनाएका छन्।
सामाजिक सञ्जालमा सरकारको निर्णयविरुद्ध जनताको आक्रोश बढ्दै गएको देखिन्छ। विभिन्न ठाउँमा विरोध प्रदर्शनको तयारीसमेत भइरहेको खबर छ।
सरकारको यो निर्णयले उर्जासम्बन्धी नीतिमा प्रभाव पार्ने र देशमा पुनः उर्जा संकट निम्त्याउने चिन्ता व्यक्त गरिएको छ। अब सरकारको आगामी कदम के हुने भन्ने प्रतिक्षामा आम नागरिक र सरोकारवाला छन्।