
काठमाडौं — “Think before you follow, wise money tomorrow” भन्ने नाराका साथ नेपालमा विभिन्न वित्तीय साक्षरतामूलक कार्यक्रम गरी ग्लोबल मनी वीक २०२५ मनाइएको छ। नेपाल राष्ट्र बैंकको संयोजनमा चैत ४ देखि १० गते (मार्च १७–२३, २०२५) सम्म विद्यालय, विश्वविद्यालय, वित्तीय संस्थाहरू तथा अन्य सरोकारवालाहरूको सहभागितामा सचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएको हो।
ग्लोबल मनी वीक (GMW) आर्थिक सहयोग तथा विकास संगठन (OECD) को पहलमा सन् २०१२ बाट सुरू भएको अन्तर्राष्ट्रिय अभियान हो। यस अभियानले हालसम्म १७६ देशका ६ करोडभन्दा बढी बालबालिका र युवालाई वित्तीय शिक्षा प्रदान गरिसकेको छ। नेपालमा पनि बचत, लगानी, ऋण व्यवस्थापन, डिजिटल वित्तीय सचेतना र साइबर सुरक्षासम्बन्धी कार्यशाला, सेमिनार, अन्तरक्रियात्मक सत्रहरू तथा वित्तीय खेलहरू आयोजना गरिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार वित्तीय निर्णयहरू सोच–विचार गरेर गर्नुपर्छ भन्ने सन्देश फैलाउन यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ। यस वर्षको अभियानले युवालाई वित्तीय निर्णय लिनुअघि सोच्न प्रेरित गर्दै भविष्य सुरक्षित बनाउन सघाउने लक्ष्य राखेको छ।
छिमेक लघुवित्तको सक्रिय सहभागिता
ग्लोबल मनी वीक २०२५ मा छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको समेत सक्रिय सहभागिता रहेको छ। यस अवसरमा संस्थाले विभिन्न वित्तीय साक्षरतामूलक कार्यक्रम आयोजना गरेको छ।
छिमेक लघुवित्तले देशभर ३९ शाखा कार्यालयसहित ४३ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। भोजपुर, उदयपुर, सोलुखुम्बु, स्याङ्जा, जाजरकोट, बर्दिया, कैलाली, पर्वत, बारा, झापा, खोटाङ, म्याग्दी, इलाम लगायत विभिन्न जिल्लाका शाखाहरूमा कार्यक्रम सञ्चालन गरिएको छ।
यस अभियान अन्तर्गत बचत, लगानी, ऋण व्यवस्थापन, डिजिटल बैंकिङ तथा वित्तीय सुरक्षाबारे प्रशिक्षण र सचेतनामूलक छलफल गरिएको छ। छिमेक लघुवित्तले विद्यालय, महिला समूह, युवा तथा स्थानीय समुदायलाई लक्षित गरी कार्यक्रम आयोजना गरेको जनाएको छ।
ग्लोबल मनी वीक २०२५ ले नेपाली समाजमा वित्तीय ज्ञान अभिवृद्धि गर्दै नागरिकलाई वित्तीय निर्णयहरू सोच-समझ गरेर लिन प्रेरित गर्ने विश्वास लिइएको छ।