
अर्घाखाँची — अर्घाखाँचीको शितगंगामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। शितगंगा नगरपालिका–२, भुवनपाटास्थित सडक खण्डमा भएको दुर्घटनामा तीन महिला र एक पुरुषको ज्यान गएको हो।
दुर्घटनामा २७ जना घाइते भएका छन्, जसमा पाँच जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।
दुर्घटनामा परेको लु २ ख ३०३ नम्बरको बस नवलपरासीको बर्दघाटबाट अर्घाखाँची भ्रमणका लागि आएको थियो। फर्किने क्रममा सडकबाट अनियन्त्रित भई बस पल्टिएको बताइएको छ।
मृतकको पहिचान खुल्न बाँकी रहेको छ भने घाइतेहरूलाई स्थानीय तथा प्रहरी टोलीको सहयोगमा उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाइएको वडाअध्यक्ष राम बहादुर गोर्खा क्षेत्रीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।