नेपालको अर्थतन्त्र सुधारोन्मुख, दोस्रो त्रैमासमा ५.१ प्रतिशत आर्थिक वृद्धि अनुमान


काठमाडौं — नेपालको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिक (साउन–पुस) को राष्ट्रिय लेखा अनुमान अनुसार ५.१ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ।

यो वृद्धि कुल गार्हस्थ उत्पादन (जीडीपी) को आधारभूत मूल्यमा गत आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको तुलनामा भएको विस्तारलाई दर्शाउँछ। कार्यालयका अनुसार यातायात, निर्माण, कृषि उत्पादन, विद्युत् उत्पादन तथा वितरण, र वित्तीय मध्यस्थता क्षेत्रमा भएको वृद्धिले अर्थतन्त्रलाई धनात्मक बनाएको छ।

पहिलो त्रैमासमा ऋणात्मक देखिएको निर्माण तथा औद्योगिक क्षेत्रमा समेत सुधार आएको तथ्यांकमा उल्लेख छ। त्रैमासिक हिसाबले यस त्रैमास (कात्तिक–पुस) मा पहिलो त्रैमास (साउन–असोज) को तुलनामा अर्थतन्त्र २.२ प्रतिशतले विस्तार भएको देखिएको छ। सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि हुने अनुमान गरेको छ।

यातायात क्षेत्र उच्च वृद्धि, कृषि क्षेत्रमा न्यून प्रगति

अर्थतन्त्रका १८ क्षेत्रमध्ये सबैभन्दा उच्च वृद्धिदर यातायात तथा भण्डारण क्षेत्रमा देखिएको छ, जसको वृद्धिदर १४.२ प्रतिशत रहेको छ। त्यसपछि खानी तथा उत्खनन ९.५ प्रतिशत, विद्युत् तथा ग्यास ९.२ प्रतिशत, र निर्माण क्षेत्र ९.१ प्रतिशत वृद्धि भएका छन्।

वित्तीय तथा बीमा क्षेत्र ६.६ प्रतिशत, व्यापार क्षेत्र ६.१ प्रतिशत, सूचना तथा प्रविधि ४.९ प्रतिशत वृद्धि हुने अनुमान छ। तर, अर्थतन्त्रमा सबैभन्दा धेरै योगदान गर्ने कृषि क्षेत्रको वृद्धिदर भने ३.२ प्रतिशत मात्र रहने देखिएको छ।

धान उत्पादन वृद्धि, तरकारी, अमिलो जातका फलफूल, हिउँदे फलफूल, तथा पशुपन्छीजन्य उत्पादनमा सुधार आएपछि कृषि क्षेत्र पनि धनात्मक अवस्थामा रहेको छ। औद्योगिक वस्तुहरूको उत्पादनमा सुधार आउँदा व्यापार तथा उत्पादनमूलक क्षेत्रले समेत गति लिएको देखिन्छ।

विद्युत् तथा ग्यास खुम्चियो, आवास तथा भोजन ऋणात्मक

पहिलो र दोस्रो त्रैमासको तुलना गर्दा विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर सबैभन्दा बढी ४.८ प्रतिशतले खुम्चिएको छ। यस्तै, आवास तथा भोजन क्षेत्र २.७ प्रतिशतले ऋणात्मक देखिएको छ।

तर, यातायात तथा भण्डारण क्षेत्र ६.४ प्रतिशतले, औद्योगिक उत्पादन, वित्तीय क्षेत्र, र सार्वजनिक प्रशासन समेत सकारात्मक रूपमा वृद्धि भएको देखिएको छ।

नेपालको अर्थतन्त्र क्रमिक रूपमा सुधारोन्मुख रहेकाले आगामी महिनाहरूमा अझ सकारात्मक संकेत देखिने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको