
काठमाडौं, चैत १५ – काठमाडौंमा आज समाजवादी मोर्चा र राजावादी पक्षले छुट्टाछुट्टै स्थानमा शक्ति प्रदर्शन गर्दै छन्। समाजवादी मोर्चाले प्रदर्शनीमार्गमा जनसभा गर्नेछ भने राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले तिनकुनेमा सभा गर्ने तयारी गरेको छ।
दुवै समूह फरक विचार र माग लिएर आन्दोलनमा उत्रिए पनि काठमाडौंलाई नै केन्द्र बनाएर प्रदर्शन गर्ने भएका कारण सुरक्षा व्यवस्था कडा पारिएको छ। काठमाडौं प्रहरी प्रमुख एसपी अपिलराज बोहराका अनुसार जिल्ला प्रशासनले समाजवादी मोर्चाको सभा भृकुटीमण्डप क्षेत्र र राजावादी समूहको सभा तीनकुनेमा तय गरेको छ।
सुरक्षा व्यवस्थामा ४५ सय सुरक्षाकर्मी परिचालन
दुवै पक्षलाई जम्काभेट हुन नदिन प्रहरीले विशेष रणनीति अपनाएको छ। प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको संयुक्त टोली सुरक्षा व्यवस्थामा खटिएको छ।
• नेपाल प्रहरी : ३,००० सुरक्षाकर्मी
• सशस्त्र प्रहरी : १,५०० सुरक्षाकर्मी
• अलर्ट दस्तासमेत तयारी अवस्थामा
• सिभिल सुरक्षाकर्मी परिचालन
• सिसिटिभी र ड्रोनमार्फत निगरानी
प्रदर्शनस्थलमा ट्राफिक व्यवस्थापनका लागि छुट्टाछुट्टै रुट निर्धारण गरिएको छ। प्रहरी झन्डा र नाराका आधारमा प्रदर्शनकारीको पहिचान गरी फरक–फरक सडक प्रयोग गराउने रणनीतिमा छ।
राष्ट्रिय मानव अधिकार आयोगको अपिल
राष्ट्रिय मानव अधिकार आयोगले दुवै पक्षलाई प्रदर्शनलाई शान्तिपूर्ण राख्न आग्रह गरेको छ। आयोगले राज्य संयन्त्रलाई पनि मानव अधिकारको मापदण्ड पालना गर्दै सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरेको छ। आयोगले प्रदर्शनको अनुगमन गर्न विभिन्न टोली खटाउने जनाएको छ।
काठमाडौंमा प्रदर्शनका कारण सर्वसाधारणलाई असुविधा हुन सक्ने भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ।