नेपाली कांग्रेस: तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजाले लिनुपर्छ


काठमाडौं – नेपाली कांग्रेसले तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। शनिबार पार्टी पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलनमा यस्तो धारणा सार्वजनिक गरेका हुन्।

प्रवक्ता महतका अनुसार पूर्वराजाकै निर्देशनमा समिति गठन गरेर यो घटना घटाइएको छ, त्यसैले घटनाको नैतिक तथा कानुनी जिम्मेवारी पनि उनले नै वहन गर्नुपर्ने कांग्रेसको निष्कर्ष छ।

“शान्तिपूर्ण प्रदर्शन गर्ने भनिए पनि तोडफोड, हिंसात्मक गतिविधि र अराजकता फैलाउने कार्य भएको छ,” महतले भने। उनका अनुसार प्रदर्शन योजनाबद्ध रूपमा अराजकता सिर्जना गरेर सत्ता कब्जाको रणनीति अनुरूप भएको थियो।

नेपाली कांग्रेसले लोकतान्त्रिक व्यवस्थामा हिंसा र अराजकताका लागि कुनै स्थान नभएको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेको छ। पार्टीले सरकारलाई पनि सुरक्षा संयन्त्रलाई चुस्त बनाउन र हिंसात्मक गतिविधि रोक्न कडा कदम चाल्न सुझाव दिएको छ।

यस घटनालाई लिएर सत्तारूढ गठबन्धनका अन्य दलहरूबाट पनि विभिन्न प्रतिक्रिया आएका छन्। नेपाली कांग्रेसको यस कदमलाई कतिपयले प्रजातन्त्र र कानुनी राज्यको रक्षा गर्ने प्रयास भनेका छन् भने केहीले राजनीतिक फाइदा उठाउने रणनीति भएको भन्दै आलोचना गरेका छन्।

अब सरकार यस घटनालाई कस्तो रूपमा हेर्छ र दोषीमाथि के कस्तो कारबाही हुन्छ भन्ने विषयमा सबैको चासो बढेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको