
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको रिटमा आज सुनुवाइ नहुने भएको छ।
सर्वोच्च अदालतले घिसिङको रिटलाई ‘हेर्न नभ्याइने सूची’ मा राखेपछि आजका लागि तोकिएको सुनुवाइ स्थगित भएको हो। यसअघि, न्यायाधीश प्रकाशमान सिंह र शारङ्गा सुवेदीको इजलासमा सुनुवाइ हुने तय गरिएको थियो।
गत शुक्रबार प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारलाई कारण देखाउ आदेश जारी गरेको थियो। न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले घिसिङलाई बर्खास्त गर्नुपर्ने कारण सरकारसँग मागेको थियो।
सर्वोच्चले सरकारलाई लिखित जवाफ पेश गर्न निर्देशन दिँदै अन्तरिम आदेश हुने वा नहुनेबारे छलफल गर्न आइतबार दुवै पक्षलाई बोलाएको थियो।
के भयो घिसिङको बर्खास्ती प्रकरण?
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई कार्यकारी निर्देशकबाट बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि घिसिङ सर्वोच्च अदालत पुगेका थिए।
घिसिङले सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए। तर, आजको सुनुवाइ ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि उनीसँग अब अर्को मितिमा सुनुवाइ हुने भएको छ।