पुथाउत्तरगङ्गा गाउँपालिकाद्वारा भांगो खेतीलाई वैधानिक मान्यता


रूकुमपूर्व, रूकुमपूर्वस्थित पुथाउत्तरगङ्गा गाउँपालिकाले भांगो खेतीलाई औपचारिक मान्यता दिँदै वैधानिकता प्रदान गरेको छ। यद्यपि संघीय सरकारले हालसम्म भांगो खेतीलाई कानुनी मान्यता दिएको छैन, गाउँपालिकाले स्थानीय आवश्यकता र जनजीविकालाई ध्यानमा राख्दै ‘भांगोजन्य पदार्थ संरक्षण तथा व्यवस्थापन विधेयक–२०८१’ पारित गरेको हो।

गाउँपालिका अध्यक्ष पुनिराज घर्तीमगरका अनुसार सो विधेयकको आधारमा तोकिएको मापदण्ड तथा प्रक्रियाअनुसार अब फल र रेसाका लागि भांगो खेती गर्न सकिनेछ। “संघीय सरकारबाट कुनै स्पष्ट कानुन नभए पनि स्थानीयको माग र परम्परागत जीवनशैलीलाई मध्यनजर गर्दै हामीले यो निर्णय गरेका हौं,” अध्यक्ष घर्तीमगरले बताए।

उनका अनुसार भांगोको फलबाट तेल र चटनी उत्पादन गरिन्छ भने रेसाबाट धागो, कपडा, दाम्लो, नाम्लो लगायतका सामग्री बनाइन्छन्। जिल्लामा धान उत्पादन नहुने भएकाले कृषकहरू भांगो फल साटेर चामल जोहो गर्दै आएका छन्। यस्तो अवस्थामा भांगो खेती वैध भएपछि उनीहरूको जीवनयापन थप सहज हुने अपेक्षा गरिएको छ।

गाउँपालिकाले भांगो खेती गर्न चाहने कृषकहरूले खेती गर्न लागिएको स्थान र क्षेत्रफलको विवरणसहित पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरेको छ। अनुमति प्रक्रिया, अनुगमन प्रणाली तथा मापदण्डहरू कार्यविधिमा स्पष्ट उल्लेख गरिएको जनाइएको छ।

गाउँपालिकाको निर्णयपछि स्थानीयवासीहरू उत्साहित देखिएका छन्। उनीहरूले भांगो खेतीलाई वैधानिकता दिइएकोमा खुसी व्यक्त गर्दै यसले आम्दानीको प्रमुख स्रोतलाई संरक्षण गर्ने विश्वास व्यक्त गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको