
दिल्ली,
भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले आफ्ना शीर्ष नेताहरू सोनिया गान्धी र राहुल गान्धीमाथि प्रवर्तन निर्देशनालय (ईडी) द्वारा लगाइएको मनी लन्ड्रिङको आरोपलाई “राजनीतिक प्रतिशोध” भन्दै कडा आपत्ति जनाएको छ। पार्टीले बुधबार देशभर विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।
ईडीले गान्धी परिवार र अन्य कांग्रेस नेताहरूले “यंग इन्डियन” नामक कम्पनीमार्फत करोडौं मूल्य बराबरको सम्पत्ति धोखाधडीपूर्वक अधिग्रहण गरेको आरोप लगाएको छ। रिपोर्टअनुसार, २०१० मा कांग्रेससँग आवद्ध एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल) ले आफ्नो ऋणलाई यंग इन्डियनलाई इक्विटी सेयरमा रूपान्तरण गरेर मात्र ५० लाख रुपैयाँमा २० अर्ब रुपैयाँ बराबरको सम्पत्ति स्थानान्तरण गरेको थियो।
कांग्रेसले यंग इन्डियनलाई “नाफा नकमाउने संस्था” (नन-प्रॉफिट) भनेको छ, जसले आफ्नो सेयरधारकलाई कुनै लाभांश वितरण गर्दैन। यस कम्पनीमा राहुल र सोनिया गान्धीको ३८ प्रतिशत स्वामित्व छ भने बाँकी २४ प्रतिशत हिस्सा मोतीलाल भोरा, सैम पित्रोदा लगायतका नेताहरूको छ।
ईडीले दिल्ली, मुम्बईलगायत थुप्रै शहरमा यंग इन्डियनसँग सम्बन्धित ६.६ अर्ब रुपैयाँ मूल्य बराबरका सम्पत्तिहरू जफत गर्ने प्रक्रिया अघि बढाएको छ।
यस मुद्दाको सुनुवाइ अप्रिल २५ मा तोकिएको छ।
कांग्रेसले मोदी सरकारमाथि बारम्बार आफ्ना राजनीतिक विरोधीहरूलाई दमन गर्न प्रवर्तन निर्देशनालयको दुरुपयोग गर्ने आरोप लगाउँदै आएको छ। पार्टीका प्रवक्ताहरूले यसलाई “लोकतन्त्रमाथिको हमला” भन्दै सडक संघर्ष गर्ने चेतावनी दिएका छन्।
(समाचर स्रोत हिन्दी बीबीसि)