
दार्चुला —
दार्चुला जिल्लाको मार्मा गाउँपालिका–४ स्थित बार्कु लोड सेन्टर र मार्मा–२ स्थित राष्ट्रिय परिचयपत्र लोड सेन्टर (गनगडा, सिम, डाङ, चौडेली, लाम्बगर, ओखडानि क्षेत्र) मा आजदेखि विधिवत् रूपमा विद्युत् सेवा चार्ज गरिएको छ।
नेपाल विद्युत प्राधिकरणको पहलमा सम्पन्न यस योजनाअन्तर्गत अब स्थानीय बासिन्दाले नियमित रूपमा घरमै विद्युत् सेवा प्राप्त गर्ने भएका छन्। लामो समयदेखि अँध्यारोमा जीवन बिताउँदै आएका यहाँका स्थानीयवासीका लागि यो ऐतिहासिक उपलब्धि बनेको छ।
बार्कु र गनगडा क्षेत्रका घर–घरमा अब बत्ती बाल्न, मोबाइल चार्ज गर्न, तथा अन्य विद्युतीय उपकरण प्रयोग गर्न सकिनेछ। यसले जीवनशैलीमा सुधार ल्याउनुका साथै शिक्षा, स्वास्थ्य र स-साना उद्योग व्यवसायमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
स्थानिय नेता नरबहादुर बिष्टका अनुसार, “यो सफलता स्थानीय सरकार, विद्युत प्राधिकरणका प्राविधिक तथा निर्माण कम्पनीबीचको सहकार्यको नतिजा हो। यसले सम्पूर्ण गाउँपालिका विद्युत पहुँचको दिशामा अगाडि बढेको प्रमाणित गर्छ।”
प्राधिकरणको प्राविधिक सहयोग र स्थानीयको सक्रियतामा सफलतापूर्वक चार्ज सम्पन्न भएको यस लोड सेन्टरमार्फत दार्चुलाको ग्रामीण भेग उज्यालो हुने आशा गरिएको छ।
(स्थानीय नेता नरबहादुर बिष्टको जानकारीका आधारमा तयार गरिएको)