गभर्नर नियुक्तिमा सहमति : प्रधानमन्त्री ओलीले देउवालाई नाम दिन आग्रह, डा. गुणाकर भट्टको सम्भावना बलियो


काठमाडौं —
लामो समयदेखिको अन्योलपछि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रिया अन्तिम चरणमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गभर्नरको नाम दिन आग्रह गरेपछि प्रक्रियाले गति लिने देखिएको छ।

गत चैत २४ गते गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिएपछि सरकारले अहिलेसम्म नयाँ गभर्नर नियुक्त गर्न सकेको थिएन। निलम ढुंगानालाई कार्यवाहक गभर्नरको रूपमा जिम्मेवारी दिइएको छ।

सत्तासाझेदार दल कांग्रेस र एमालेबीच नाम चयनमा मतभेद रहँदा प्रक्रिया अघि बढ्न सकेको थिएन। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन गरिएको सिफारिस समितिको बैठकसमेत राजनीतिक सहमतिको अभावमा बस्न सकेको थिएन।

तर मंगलबार प्रधानमन्त्री ओलीले बालुवाटारमा सभापति देउवासँग गभर्नर नियुक्तिको विषयमा एक्लाएक्लै छलफल गरेका थिए। छलफलपछि प्रधानमन्त्री ओलीले गभर्नरको नाम दिन सभापति देउवालाई आग्रह गरेका थिए।

डा. गुणाकर भट्टको नाम अगाडि
सभापति देउवाले राष्ट्र बैंककै कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउने प्रस्ताव अघि सारेका छन्। भट्टले अमेरिकाबाट अर्थशास्त्रमा पीएचडी गरेका छन् र कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री हुँदा उनका सल्लाहकारसमेत रहेका थिए।

अब उपप्रधानमन्त्री पौडेलको संयोजकत्वमा रहेको सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा पठाउनेछ। तीमध्ये एक जनालाई गभर्नरमा नियुक्त गरिनेछ। भट्टको नाम सभापति देउवाले प्रस्ताव गरेकाले उनको सम्भावना बलियो मानिएको छ।

उमेर हद संशोधनमा सर्वोच्चको अन्तरिम आदेश
यसबीच गभर्नर नियुक्तिका लागि उमेर हदसम्बन्धी मापदण्डमा गरिएको संशोधनविरुद्ध सर्वोच्च अदालतमा अधिवक्ता विशाल थापाले दायर गरेको रिटमा वैशाख २ गते अल्पकालिन अन्तरिम आदेश जारी भएको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले अर्को आदेश नआउन्जेल संशोधित मापदण्ड कार्यान्वयन नगर्न आदेश दिएको छ।

सो आदेशपछि गभर्नरको दौडमा रहेका रवीन्द्र पाण्डे र राजेन्द्रकिशोर क्षेत्री उमेरका कारण दौडबाट बाहिरिएका छन्। जसले गर्दा ओली र देउवा दुवैले राष्ट्र बैंकमै करिअर बनाएका व्यक्तिलाई गभर्नर बनाउन सहमति जनाएका हुन्।

अब केही दिनभित्र सिफारिस समिति बैठक बसेर प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। सभापति देउवाले अगाडि सारेका डा. गुणाकर भट्टको नाम अन्ततः मन्त्रिपरिषदबाट अनुमोदन भई गभर्नर नियुक्त हुने सम्भावना उच्च देखिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको