
काठमाडौं —
शुक्रबार देशका अधिकांश भूभागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने भएको छ भने केही क्षेत्रमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, गण्डकी, लुम्बिनी प्रदेशसहितका अन्य पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।
यसका साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ।
शुक्रबार रातिको समयको पूर्वानुमानअनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभाग मुख्यतया सफा रहनेछ।
महाशाखाले सार्वजनिक सूचना जारी गर्दै सम्भावित वर्षा र चट्याङबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी उच्च पहाडी र हिमाली क्षेत्रतर्फ यात्रा गर्दा मौसमको अवस्था बुझेर मात्र हिँड्न अनुरोध गरिएको छ।
मौसमको तीव्र परिवर्तन हुने समय भएकाले वर्षा र हिमपातको सम्भावनालाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ।