भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने राष्ट्रिय अभियान सुरु — स्वास्थ्य मन्त्रीको अभिभावकलाई हार्दिक अनुरोध


काठमाडौं — देशभरका ७५३ वटै स्थानीय तहमा बालबालिकाको कुपोषण न्यूनीकरण गर्दै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न लक्षित दुई दिने राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आजबाट सुरु भएको छ। वैशाख ६ र ७ गते सञ्चालन हुने यस अभियान अन्तर्गत देशभरका लाखौं बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइनेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले देशभरका ६ देखि ५९ महिना उमेर समूहका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने जानकारी गराउँदै सबै अभिभावकहरूलाई बालबालिकालाई अनिवार्य रुपमा औषधि खुवाउन आग्रह गरेका छन्।

उनले अभियानका क्रममा २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ र १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको उल्लेख गर्दै, “कुपोषणको जोखिम कम गर्न र भविष्यको स्वस्थ पुस्ता निर्माण गर्न यो अभियान महत्वपूर्ण छ,” भने।

महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र सरोकारवालाहरूको सक्रिय सहभागिता नै अभियानको सफलताको मूल आधार हुने भन्दै मन्त्री पौडेलले सबै पक्षलाई अभियानमा सहयोग गर्न विशेष अनुरोध गरेका छन्।

बालबालिकाको पोषण सुधार र स्वास्थ्य सुरक्षामा यस अभियानले लामो समयदेखि महत्वपूर्ण योगदान दिँदै आएको छ। भिटामिन ए तथा जुकाको औषधि नियमित रुपमा खुवाउँदा दृष्टि समस्यादेखि लिएर शारीरिक कमजोरी, कुपोषण, र पेटका कीरा लगायतका समस्याबाट बालबालिकालाई जोगाउन सकिने विज्ञहरू बताउँछन्।

स्वास्थ्य मन्त्रालयले हरेक वर्ष वैशाख र कात्तिक महिनामा यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसपटक पनि लाखौं बालबालिकालाई लक्षित गर्दै स्वास्थ्य संस्था, विद्यालय, टोल र बस्तीमै पुगेर औषधि खुवाइँदैछ।

मन्त्री पौडेलले अभियान सफल पार्न सबै नागरिकको सहयोग अपेक्षा गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको