
काठमाडौं,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्र तोड्ने घोषणा गरेपछि नेपाल सरकारको गृह मन्त्रालयले कडा चेतावनी दिएको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै संविधान तथा प्रचलित कानूनको उल्लंघन गर्ने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको हो।
गृह मन्त्रालयले जारी विज्ञप्तिमा भनिएको छ, “संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारवाही हुने व्यहोरा सूचित गरिन्छ।”
विज्ञप्तिमा मन्त्रालयले सबै पक्षलाई शान्ति, सुव्यवस्था र कानूनको पालना गर्न आग्रह गर्दै अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन पनि अनुरोध गरेको छ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा निषेधित क्षेत्रको उल्लंघन भएमा सरकारले आवश्यक कानूनी कदम चाल्ने उल्लेख गरिएको छ।