कञ्चनपुर,
राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियानअन्तर्गत कञ्चनपुरमा महिला स्वास्थ्य स्वयंसेवीकाले घर–घरमै पुगेर बालबालिकालाई औषधि खुवाउन सुरु गरेका छन्।
स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार, जिल्लामा ३७ हजार ५५४ बालबालिकालाई भिटामिन ‘ए’ र ३३ हजार ४६ बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ। यो अभियान वैशाख ६ गतेदेखि ७ गतेसम्म सञ्चालन भइरहेको छ।
अभियानको पहिलो दिन खोप केन्द्र तथा तोकिएका स्थानहरूमा बालबालिकालाई औषधि खुवाइएको थियो। तर आज महिला स्वास्थ्य स्वयंसेवीकाले खोप केन्द्रमा उपस्थित हुन नसकेका बालबालिकालाई लक्षित गर्दै उनीहरूको घरमै पुगेर औषधि खुवाइरहेका छन्।
शुक्लाफाँटा नगरपालिका–११, कलुवापुरकी महिला स्वास्थ्य स्वयंसेवीका राजु रानाका अनुसार, केन्द्रमा थोरै मात्र बालबालिका आएका कारण उनी बिहानैदेखि घर–घरमा पुगेर सेवा दिइरहेकी छन्। “नआएका बालबालिकालाई घरमै खुवाउनका लागि पुग्दै छौँ,” उनले भनिन्।
सरकारले भिटामिन ‘ए’ कार्यक्रम सन् १९९३ (वि.सं. २०५०) देखि र जुकाको औषधि कार्यक्रम सन् १९९९ (वि.सं. २०५६) देखि सुरु गरेको हो। यी कार्यक्रमहरू बालबालिकाको पोषण सुधार र रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले सञ्चालित हुँदै आएका छन्।

