
डा. वाग्लेले स्टाटसमा लेखेका छन्, “हामी सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हौँ।” उनले सामाजिक समावेशिता, न्यायमा आधारित अवसरको पहुँच र प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रमा विश्वास गर्ने उल्लेख गरेका छन्।
उनले विधिमा आधारित असल शासनको अभ्यासमार्फत समतामूलक उन्नति हासिल गर्ने प्रतिबद्धता दोहोर्याउँदै, उद्यममैत्री र लगानीअनुकूल वातावरण निर्माण गर्न नियमनकारी संरचनाको आवश्यकता औंल्याएका छन्।
रास्वपाको विचारमा सनातन सभ्यताको मूल्य, विविधतामा आधारित सहअस्तित्व, र विश्वभर फैलिएका नेपालीहरूको सामूहिक सामर्थ्यलाई आत्मसात् गर्दै राष्ट्रको सार्वभौमिकता, अखण्डता र स्वाभिमान जोगाउनु अत्यन्त महत्वपूर्ण छ।
तर अर्कोतर्फ, डा. वाग्लेले आजको लोकतान्त्रिक अभ्यासलाई ‘क्लेप्टोक्रेसी’ अर्थात् लुटतन्त्रको रूपमा चित्रण गरेका छन्। “डेमोक्रेसीको नाममा क्लेप्टोक्रेसी मञ्चन भैरहेको छ,” भन्दै उनले यसप्रकारको अभ्यासलाई जनमतकै बलमा अन्त्य गरी सार्थक लोकतन्त्रको अभ्यासबाट देशमा छिटो प्रगति गर्नुपर्नेमा जोड दिएका छन्।