मार्मा गाउँपालिकाकी उपाध्यक्षमाथि मादक पदार्थ कारोबारमा संलग्नताको आरोप, विद्यालय नजिकै डिलर सञ्चालन


दार्चुला मार्मा गाउँपालिका–२ मा रहेका स्थानियहरू उपाध्यक्ष शर्मिला चन्द सिंहविरुद्ध गम्भीर आरोपसहित आक्रोशित भएका छन्। उनीमाथि लटिनाथ माध्यमिक विद्यालयदेखि करिब ५० मिटरको दूरीमा मादक पदार्थको डिलर राखी कारोबार गरिरहेको आरोप लागेको हो।

स्थानिय स्रोतका अनुसार उपाध्यक्ष सिंहले आफ्नै राजनीतिक र प्रशासनिक प्रभाव प्रयोग गर्दै सो कारोबार सञ्चालन गरिरहेकी छन्। विद्यालय प्रशासनले बारम्बार सरोकारवाला निकायलाई जानकारी दिएपनि कुनै प्रतिक्रिया नआएको बताइएको छ।

“विद्यालय नजिकै मादक पदार्थको डिलर हुनु आफैँमा खतरनाक हो,” एक शिक्षकले नाम नखुलाउने सर्तमा भने, “बालबालिकाको भविष्यमा प्रत्यक्ष असर पर्ने खालको गतिविधिमा जनप्रतिनिधि स्वयं संलग्न हुनु दुर्भाग्यपूर्ण छ।”

स्थानियहरूले गाउँपालिका प्रशासन र प्रहरी प्रशासन दुवैको मौनतालाई आलोचना गर्दै यसको जाँच र तत्काल कारबाहीको माग गरेका छन्। उनीहरूले यस विषयमा गाउँसभाबाटै छानबिन समिति गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

उता, उपाध्यक्ष शर्मिला चन्द सिंहले भने यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक गरेकी छैनन्।

स्थानियहरूको भनाइअनुसार, विद्यालयले यसबारे लिखित रूपमा जानकारी दिएको भएपनि, सत्ता र शक्तिको आडमा व्यवसाय सञ्चालन भइरहेको छ। यस घटनाले स्थानीय सरकारको भूमिकाप्रति गम्भीर प्रश्न खडा गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको