
ताप्लेजुङ, फुङलिङ – ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित काफ्लेपाटी सडक खण्डमा सोमबार बिहान एक दर्दनाक घटना घटेको छ। पाथीभरा मन्दिर दर्शनका लागि जाँदै गरेको बालेरो जीपमा अचानक झरेको विद्युत् तार छुँदा करेन्ट लागेर आगलागी हुँदा गम्भीर क्षति पुगेको छ।
ना.प्र. मे १ ज ३०११ नम्बरको बालेरो जीपमा सवार ६ जनामध्ये ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। दुर्घटनामा परेर दुई जना घाइते भएका छन्, जसको हाल फुङलिङस्थित अस्पतालमा उपचार भइरहेको छ।
मृत्यु हुनेहरू:
- दुर्गा भट्टराई, सवारी चालक, फुङलिङ नगरपालिका–१०
- आध्या आचार्य (१६ वर्ष), ललितपुर
- सरिता पौडेल (६९ वर्ष), झापा
- विनोद पौडेल (७० वर्ष), झापा
घाइते हुनेहरू:
- सविना आचार्य (४५ वर्ष), ललितपुर
- अभियम आचार्य, सविनाका छोरा
स्थानीय प्रहरीले दिएको जानकारीअनुसार, मृतक आध्या आचार्य घाइते सविना आचार्यकी छोरी हुन्। यस्तै, मृतक सरिता र विनोद पौडेल घाइते सविनाका बाबुआमा हुन्। ती सबैजना पाथीभरा दर्शनका लागि बालेरो जीपमा यात्रा गरिरहेका थिए।
प्रहरीका अनुसार, जीप सडकमा अगाडि बढ्दै गर्दा अचानक माथिबाट झरेको हाई-भोल्टेज विद्युत् तार गाडीमा खस्दा करेन्ट लागेर आगलागी भएको थियो। आगोले गाडी पूर्णरूपमा जलेर नष्ट भएको छ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। यस घटनाले स्थानीय क्षेत्र र पीडित परिवारमा ठूलो शोकको छाया पारेको छ।