काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले काठमाडौं टावरको नक्सापास प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत विस्तृत धारणा सार्वजनिक गरेका छन्।
उनका अनुसार, महानगरको स्वामित्व रहेको काठमाडौं टावरमा १२ तलाको स्वीकृति भए पनि हाल १९ तलासम्म निर्माण भइरहेको छ, जुन विभिन्न कानूनी मापदण्डविपरीत गरिएको हो। स्टाटसमा उनले यो कार्यबाट महानगरलाई करिब १ अर्बभन्दा बढी आर्थिक हानी पुग्ने दाबी गरेका छन्।
शाहले उल्लेख गरेअनुसार, भवन निर्माणका लागि नेपाल सरकारद्वारा तोकिएको १२ तला सीमालाई उल्लंघन गर्दै कुनै योजना अनुमति (planning permit) नलिई १९ तला बनाइएको हो। साथै, भूकम्प प्रतिरोधात्मक संरचना परीक्षण (structural analysis) मा पनि ७०% भन्दा धेरै कॉलम असफल भएको पाइएको बताइएको छ।
उनले १२ तलाबाट १९ तलामा रूपान्तरण गर्नका लागि आवश्यक वातावरणीय, आर्थिक र सामाजिक प्रभाव मूल्यांकन, सम्झौता पुनरावलोकन र वैधानिक प्रक्रियाहरू बेवास्ता गरिएको दाबी गरेका छन्।
शाहले तत्कालीन प्रमुख प्रशासकीय अधिकृतले नक्सा पास नगरी जरिवाना मात्रै गरेको भन्दै पछिल्लो समयमा सरोज गुरागाईले दुई दिनमै नक्सा पास गरेकोमा प्रश्न उठाएका छन्। उनका अनुसार यो कार्य नीतिगत भ्रष्टाचारअन्तर्गत पर्छ र महानगरको आफ्नै अनलाइन प्रणाली (EBPS) मा समेत नक्सा हालसम्म पास भएको देखिदैन।
यसबाहेक, उनले यसै दिन हिल्टन होटलको नक्सापास पनि सरोज गुरागाईबाटै भएको उल्लेख गर्दै त्यसमा समेत अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
शाहले जनप्रतिनिधि, कर्मचारी र संघीय सरकारका निकायहरूले मिलेमतोमा महानगरको नियम विपरीत कार्य गरिरहेको आरोप लगाउँदै दोषीलाई कारबाहीका लागि प्रमाण महानगरमा सुरक्षित रहेको र आवश्यक परेमा सूचनाको हक अन्तर्गत उपलब्ध गराउने बताएका छन्।

