
नेपाली सेनाको विशेष फौज अन्तर्गत रहेको भैरवनाथ गणले धादिङको सल्यानटारमा विशेष प्याराजम्प (प्यारासुट जम्प) अभ्यास सम्पन्न गरेको छ। देशको सुरक्षा तयारीलाई बलियो बनाउने उद्देश्यले गरिएको यस अभ्यासमा सेनाका विशेष प्रशिक्षित जवानहरूले हवाईजहाजबाट जम्प गरी निर्धारित लक्ष्य क्षेत्रमा सुरक्षित अवतरण गरेका थिए।
प्याराजम्प अभ्यास नेपाली सेनाको नियमित तालिम अन्तर्गत पर्न आउँछ। यसले सैनिकहरूको उच्च जोखिममा कार्य गर्ने क्षमता, मनोबल र तिव्र प्रतिक्रिया दिने तयारीलाई सुदृढ बनाउने उद्देश्य लिएको हो।
भैरवनाथ गणका जवानहरू अत्याधुनिक प्यारासुट प्रविधि र युद्धकला प्रशिक्षणमा दक्ष मानिन्छन्। उनीहरूले सल्यानटारको खुल्ला क्षेत्रलाई प्रयोग गरी उचाइबाट जम्प गर्ने अभ्यास प्रदर्शन गरे, जसलाई सेनाका उच्च अधिकारीहरूले प्रत्यक्ष अवलोकन गरेका थिए।
सेनाका एक अधिकृतका अनुसार, “यस्ता अभ्यासहरूले विशेष फौजलाई कुनै पनि आपतकालीन अवस्थामा छिटो निर्णय गर्न सक्ने र देशको सुरक्षा हितमा प्रभावकारी ढंगले काम गर्न सक्ने बनाउँछ।”
सल्यानटारको भौगोलिक बनावट र खुला क्षेत्र यस्ता अभ्यासका लागि उपयुक्त मानिन्छ। स्थानीय बासिन्दाले समेत सेनाको अभ्यासलाई चासोका साथ हेरिरहेका थिए। कतिपयले पहिलो पटक यस्तो अभ्यास प्रत्यक्ष देखेको भन्दै उत्साह व्यक्त गरेका छन्।