सूचनाको सच्चाइ र पत्रकारिताको मर्यादा नबिर्सौं : नेता चन्द्र भण्डारी


काठमाडौं, बैशाख २३ – नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद चन्द्र भण्डारीले सञ्चारकर्मीलाई तथ्यपरक सूचना दिन र पत्रकारिताको मूल्यमान्यता नबिर्सन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै उनले पत्रकारिताको दायित्व र मर्यादाबारे स्पष्ट धारणा सार्वजनिक गरेका हुन्।

भण्डारीका अनुसार सञ्चारकर्मीहरूले समाजलाई सत्यतथ्य सूचनाबाट सुसूचित गराउने महत्वपूर्ण जिम्मेवारी वहन गर्दै आएका छन्, जसले समाजमा गहिरो प्रभाव पार्ने गर्दछ। त्यही कारण सूचनाको हक प्रयोग गर्दा सूचनाको सच्चाइ, त्यसको सामाजिक प्रभाव, र पत्रकारिताको उत्तरदायित्वको गम्भीरता बुझ्न आवश्यक रहेको उनको भनाइ छ।

उनले सस्तो लोकप्रियता कमाउन वा मानसिक असन्तुलन भएका व्यक्तिहरूका आधारहीन भनाइमा आधारित भएर कसैको चरित्रहत्या गर्ने कार्यलाई भत्र्सना गरेका छन्। “कुनै व्यक्ति विशेषसँग सम्बन्धित विषयमा विषवमन गर्दा, सम्बन्धित व्यक्ति सहज उपलब्ध हुँदाहुँदै पनि प्रतिक्रिया नलिनु सञ्चार क्षेत्रको कमजोरी हो,” भण्डारीले भने।

उनले सबै सञ्चारकर्मी र व्यक्तिहरूलाई पेशागत मूल्य, मान्यता र मर्यादाभित्र रही कार्य गर्न आग्रह गर्दै तथ्यहीन सूचनाले मानसिक रोगजस्तै असर गर्न सक्ने चेतावनी पनि दिएका छन्। “सूचनालाई तथ्यपरक बनाउनु सञ्चारकर्मीको धर्म हो, र सही सूचना पाउनु जनताको नैसर्गिक अधिकार हो,” उनले उल्लेख गरेका छन्।

नेता भण्डारीले ‘कसैको मानसिक रोग सरुवा नबनोस्’ भन्दै गैर-जिम्मेवार अभिव्यक्ति र प्रचारविरुद्ध सचेत रहन सबैमा अपील गरेका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको