
दार्चुला, – जिल्ला प्रहरी कार्यालय दार्चुलाको समन्वयमा इलाका प्रहरी कार्यालय लटिनाथले लागूऔषध रोकथाम तथा न्यूनिकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रम आज बिहान ११:१५ बजे मार्मा गाउँपालिका वडा नम्बर ३ स्थित श्री लटिनाथ माध्यमिक विद्यालय, रस्कोट दार्चुलामा आयोजना गरिएको हो।
प्रहरी निरीक्षक डम्बर सिंह कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले कक्षा १२ को परीक्षा दिन आएका विद्यार्थीहरुलाई भेला गरी “समुदाय–प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत उक्त जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको हो।
कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई लागूऔषधको दुष्परिणाम, यसको रोकथाममा समुदायको भूमिका, तथा प्रहरीसँग सहकार्यको आवश्यकता बारे जानकारी गराइएको थियो।
इलाका प्रहरी कार्यालय लटिनाथका अनुसार यस्ता कार्यक्रमले समुदायमा सुरक्षाबोध बढाउनुका साथै युवा पुस्तालाई सकारात्मक मार्गमा लैजान सघाउ पुर्याउने अपेक्षा गरिएको छ।