
दार्चुला, आर्थिक वर्षको अन्त्यमा विकास योजनाहरूको अनुगमन तीव्र भइरहँदा मार्मा गाउँपालिकाकी उपाध्यक्ष शर्मिला सिंहमाथि अनुगमनकै क्रममा पैसा मागेको गम्भीर आरोप लागेको छ।
स्थानीय स्रोतका अनुसार उपाध्यक्ष सिंहले केही योजनाको स्थलगत अनुगमनका क्रममा उपभोक्ता समितिहरूलाई गाडी भाडा, खानपिन र अन्य खर्चको नाममा नगद रकम माग्ने गरेको दाबी गरिएको छ। “परोक्ष रूपमा भए पनि पैसा नदिए योजना हेर्न नआउने संकेत उहाँले दिनुभएको थियो,” एक उपभोक्ता समितिका सदस्यले नाम गोप्य राख्ने शर्तमा बताए।
योजनाको पारदर्शिता र जवाफदेहिताको सवाल उठिरहेका बेला जनप्रतिनिधिबाटै यस्ता व्यवहार हुनु गम्भीर विषय भएको भन्दै स्थानीय बासिन्दा र सरोकारवाला निकायले कडा आलोचना गरेका छन्। सामाजिक संजालमा समेत उपाध्यक्ष सिंहप्रति आलोचनात्मक टिप्पणीहरू देखिन थालेका छन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतका अनुसार घटनाबारे प्रारम्भिक जानकारी लिइएको छ र आवश्यक परेमा औपचारिक छानबिन प्रक्रिया अगाडि बढाइनेछ।
स्थानीय विकास योजनामा सरोकारवालाको विश्वास र पारदर्शिता कायम राख्न यस्ता आरोपको निष्पक्ष छानबिन र सत्य तथ्य सार्वजनिक गरिनु आवश्यक देखिन्छ।