
काठमाण्डौ— नेपालले विश्व स्वास्थ्य संगठन (WHO) को कार्यकारी समितिको सदस्यका रूपमा सर्वसम्मत निर्वाचन जितेको छ। यस ऐतिहासिक अवसरप्रति स्वास्थ्य मन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै सम्पूर्ण नेपाली जनतालाई बधाई दिएका छन्।
मन्त्री पौडेलले आफ्नो फेसबुक पेजमार्फत लेखेका छन्,
“जेनेभाबाट अर्को खुशीको खबर !
नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा सर्वसम्मत निर्वाचित भएको छ । यसले नेपालका स्वास्थ्य सुधारका असल प्रयासहरुको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ ठूलो सम्भावनाको ढोका उघारेको छ ।
सबै नेपालीलाई बधाई !”
कार्यकारी समिति डब्लुएचओको उच्च तहको नीति निर्माण गर्ने निकाय हो, जसले संगठनको समग्र काम कारबाहीलाई दिशा दिने काम गर्छ। यसमा नेपालजस्तो विकासोन्मुख राष्ट्रको सहभागिता हुनु स्वास्थ्य कूटनीति र अन्तर्राष्ट्रिय पहिचानको दृष्टिले एक महत्वपूर्ण उपलब्धि मानिएको छ।
नेपालको निर्वाचनसँगै देशको स्वास्थ्य प्रणालीका सुधारात्मक प्रयासहरूलाई अन्तर्राष्ट्रिय मान्यता मिलेको छ। यसले स्वास्थ्य सेवा, नीति र प्रविधिको क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरका ज्ञान र स्रोतहरू उपयोग गर्न थप सहजता पुर्याउने विश्वास गरिएको छ।