
दार्चुला – दार्चुलाको सुदूरपश्चिममा पर्ने मार्मा गाउँपालिका एक वर्षदेखि रोजगार संयोजकविहीन बनेको छ। गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीचको तिक्त सम्बन्ध र आपसी द्वन्द्वकै कारण रोजगार संयोजक नियुक्ति प्रक्रिया अन्योलमा परेको हो। स्थानीय सरकारको प्रमुख जिम्मेवारीमा पर्ने रोजगार प्रवर्द्धन कार्यक्रम ठप्प हुँदा सयौं बेरोजगार युवा निराश बनेका छन्।
संयोजक नहुँदा स्थानीय पूर्वाधार कार्यक्रम स्वरोजगार अभियानजस्ता महत्वपूर्ण योजनाहरू प्रभावित भएका छन्। गाउँपालिकाका एक कर्मचारीले नाम नखुलाउने शर्तमा बताएअनुसार, “अध्यक्ष र उपाध्यक्षबीच धेरै समयदेखि कर्मचारी भर्नीदेखि नीति निर्माणसम्ममा गम्भीर मतभेद छ। संयोजक छनोटको फाइलमा हस्ताक्षर हुन सकेको छैन।”
स्थानीय तहमा रोजगार संयोजकको भूमिका निकै महत्वपूर्ण मानिन्छ। उनले योजनाको योजना निर्माणदेखि कार्यान्वयन, निगरानी र प्रतिवेदन पेश गर्ने जिम्मेवारी लिने गर्दछन्। संयोजकविहीन अवस्थाले योजनाको प्रभावकारिता झनै कमजोर भएको छ। मार्मा गाउँपालिकाका स्थानीय भन्छन्, “काम गर्न सक्ने युवा छन्, तर काम दिने संयोजक नै छैन।
यस्तो अबस्थामा सरकारले युवालाई रोजगारी दिने भनेको केवल नारामात्र भएको जस्तो लाग्छ।” युवाहरूले गाउँमै रोजगारी पाउने आशामा स्वरोजगार योजनामा जोड दिएको बेला संयोजक नहुँदा उनीहरूको भविष्य अन्योलमा परेको छ। गाउँपालिकाले रोजगार संयोजकको पद चाँडै भर्नु आवश्यक भए पनि नेतृत्वस्तरको विवाद टुंगो नलागेसम्म समाधानको सम्भावना देखिँदैन। स्थानीय बासिन्दाहरूले अब नेतृत्वले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर जनहितमा निर्णय लिनुपर्ने माग गरेका छन्।