दार्चुलामा टिंकर सडकको न्यून बजेटप्रति कांग्रेसको विरोध, जिल्ला प्रशासन कार्यालयमा धर्ना


दार्चुला, टिंकर सडक निर्माणका लागि सरकारले बजेटमा न्यून रकम विनियोजन गरेपछि दार्चुलामा नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूले आपत्ति जनाउँदै विरोध प्रदर्शन गरेका छन्।

बिहीबार कांग्रेस दार्चुलाका जिल्ला सभापति ललितसिंह बोहराको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजीसहित सांकेतिक धर्ना दिइएको हो। धर्नामा सहभागीले ब्यानरसहित सडकको महत्त्व झल्काउँदै सरकारको नीति तथा बजेटको विरोध गरेका थिए।

सभापति बोहराका अनुसार, सरकारले जेठ १५ गते सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटमा दार्चुला–टिंकर सडकका लागि जम्मा ६ करोड ३१ लाख रुपैयाँ मात्रै छुट्याइएको छ। उक्त रकम सडक निर्माणको आवश्यकता र महत्त्वअनुसार अत्यन्त न्यून भएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो।

“महाकाली कोरिडोर अन्तर्गत तुसारपानी–टिंकर सडक खण्ड नेपाली सेनाबाट निर्माण हुँदै आएको छ। यो राष्ट्रिय सुरक्षासँग समेत जोडिएको विषय हो,” सभापति बोहराले भने, “जनतासँग प्रत्यक्ष सरोकार राख्ने सडकमा बजेट कटौती हुनु निन्दनीय छ, त्यसैले हामीले आवाज उठाएका हौं।”

साथै, धर्नापछि कांग्रेसले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र दार्चुलाबाट निर्वाचित आफ्नै पार्टीका सांसद दिलेन्द्रप्रसाद बडूलाई ज्ञापनपत्र समेत पठाएको छ।

टिंकर सडक न केवल स्थानीय विकासको आधार हो, यो सीमावर्ती क्षेत्रलाई राष्ट्रिय संजालमा जोड्ने महत्त्वपूर्ण पूर्वाधार पनि हो। यस सडकको विकासमा ठोस कदम चाल्न कांग्रेसले सरकारसँग माग गरेको छ।

– संवाददाता, दार्चुला


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


तपाईको प्रतिक्रिया
भर्खरै प्रकाशित
धेरै पढिएको