
लम्कीचुहा, कैलाली,छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, पथरैया शाखाको आयोजनामा लम्कीचुहा नगरपालिका वडा नं. २ मा चार दिने लघुउद्यम विकास तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। छिमेक एकाडेमीको प्राविधिक सहयोगमा सम्पन्न सो तालिमले सहभागी महिलाहरूलाई लघु व्यवसाय सञ्चालन, व्यवस्थापन तथा आर्थिक सशक्तिकरणतर्फ अभिप्रेरित गर्ने उद्देश्य राखेको थियो।
“सशक्त महिला, सक्षम समाज — यही हाम्रो लक्ष्य हो” भन्ने नाराका साथ सञ्चालित तालिममा महिलाहरूले व्यावसायिक ज्ञान तथा सीपको व्यावहारिक प्रशिक्षण प्राप्त गरेका थिए। तालिममा समान उत्पादन कसरी गर्ने, कस्तो समान छनोट गर्ने, व्यवसाय कसरी सुरु गर्ने, लागत निर्धारण र बजारीकरण कसरी गर्ने भन्ने विषयहरूमा व्यावहारिक अभ्यासका साथ ज्ञान दिइएको थियो।
तालिमको विशेष पक्षको रूपमा “लक्ष्य पूरा कसरी गर्ने?” भन्ने विषयलाई खेलमार्फत सिकाइएको थियो। कर्जाको सदुपयोग तथा व्यवसायिक नीतिहरू सम्बन्धमा प्रशिक्षकहरूले प्रस्ट र उपयोगी जानकारी दिएका थिए।
व्यवहारिक ज्ञान प्राप्त गराउने उद्देश्यले एक विशेष अवलोकन भ्रमण कार्यक्रम सञ्चालन गरिएको थियो। सो भ्रमण कार्यक्रम अन्तर्गत सहभागीहरूलाई पथरैया शाखाकी सफल महिला व्यवसायी श्रीमती सरिता थारुद्वारा सञ्चालित पशुपालन तथा व्रोइलर फर्ममा अवलोकन गराइयो।
श्रीमती थारुले सञ्चालन गर्दै आएकी फर्ममा मुर्रा भैंसी, जर्सी गाई, वंगुर (सुँगुर) तथा ब्रोइलर कुखुरा पालन व्यवस्थित र वैज्ञानिक तरिकाले सञ्चालित छन्। विभिन्न प्रजातिका पशुपालनको एउटै स्थानमा सफल संयोजन गर्दै उनले फर्मलाई आत्मनिर्भर व्यवसायको नमूना बनाएकी छन्।
भ्रमणका क्रममा सहभागीहरूले प्रत्यक्ष रूपमा फर्मको पशु आहार व्यवस्थापन, खोर निर्माण, सरसफाइ, रोग नियन्त्रण प्रणाली, दुध उत्पादन र बिक्री प्रक्रिया, मासुजन्य उत्पादनको हेरचाह, तथा बजार व्यवस्थापनजस्ता पक्षहरूको अध्ययन गरे।
सदस्यहरूले मुर्रा भैसीको दुध उत्पादन क्षमता, जर्सी गाईको पालन खर्च र फाइदा, वंगुर पालनको चक्र, तथा ब्रोइलर कुखुराको छिटो परिपक्व हुने गुणबारे विस्तृत रूपमा जिज्ञासा राखे। सरिता थारुले आफ्ना व्यावसायिक अनुभवका आधारमा सबै प्रश्नहरूको व्यावहारिक र सरल उत्तर दिईन्, जसले सहभागीहरूको कौतुहलता मेटाएको मात्र होइन, उनीहरूमा आत्मविश्वास र उत्साह समेत थपिदियो।
अवलोकनपछि धेरै सहभागीहरूले आफू पनि यस्ता व्यवसाय सुरू गर्ने प्रेरणा पाएको प्रतिक्रिया दिए। “यत्रो विविधता भएको फर्म एउटी महिलाले सञ्चालन गरिरहेकी छन् भने हामीले पनि सक्छौँ,” भन्ने भावना सहभागीहरूमा झल्किन्थ्यो।
अवलोकन कार्यक्रमको अन्त्यमा सहभागीहरूले यस्ता व्यवहारिक अवलोकनहरूले तालिमको प्रभावकारिता दोब्बर बनाउने हुँदा आगामी दिनमा अझ धेरै यस्ता अवसरहरू प्रदान गर्न संस्थासँग आग्रह गरे। शाखाले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै सदस्यहरूको उद्यमशील यात्रा सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्यो।
तालिमका दौरान, प्राविधिक अर्पणा जोशीले कृषि, तरकारी, अन्नबाली तथा फलफूल खेतीसम्बन्धी विस्तृत जानकारी दिँदै माटो परीक्षणसमेत गरेकी थिइन्। उनले व्यावसायिक कृषि प्रणाली तथा उत्पादन वृद्धिका उपायहरूबारे सहभागीहरूलाई अवगत गराइन्।
त्यस्तै, छिमेक एकाडेमीका प्रबन्ध सञ्चालक तथा प्रमुख प्रशिक्षक उदयराज खतिवडाले उद्यमशीलता विकास, व्यवसायका अवसरहरू, जोखिम व्यवस्थापन र कर्जाको सदुपयोगबारे सविस्तार व्याख्या गर्नुभयो।
प्रशिक्षकद्वय एल. बी. कार्की र कामना जोशीले तालिमलाई अझ प्रभावकारी बनाउन खेलमार्फत पारिवारिक बजेट, आय–व्यय व्यवस्थापन, स्रव्य दृश्य माध्यमको प्रयोग गरी प्रशिक्षण दिएका थिए।
तालिमको क्रममा संस्थाका अनुगमन प्रमुख राजु के.सी. ले मन्तव्य राख्दै यस्ता कार्यक्रमले समुदायमा उद्यमशीलता विकासमा सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
तालिमको पहिलो दिन शाखा प्रबन्धक हरिचन्द्र भट्टले कार्यक्रमको उद्घाटन गर्नुका साथै संस्थाको परिचय तथा तालिमको उद्देश्यबारे सहभागीहरूलाई जानकारी गराएका थिए। अन्तिम दिनमा उहाँले छोटो मन्तव्य दिँदै सहभागीहरू, प्रशिक्षकहरू, प्राविधिक टोली तथा सबै सहयोगी पक्षप्रति बधाई र आभार व्यक्त गर्नुभयो।
कार्यक्रमको समापन समारोहमा सहभागी सम्पूर्ण महिलाहरूले आफ्नै व्यवसाय सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। समापन अवसरमा प्रमुख प्रशिक्षक उदयराज खतिवडाले प्रमाणपत्र वितरण गर्दै तालिमको उत्साहपूर्वक समापन गर्नुभयो।
चार दिने यो लघुउद्यम विकास तालिमले स्थानीय महिलाहरूमा आत्मनिर्भरता, उद्यमशीलता र सशक्तिकरणतर्फ मार्ग खोल्ने स्पष्ट संकेत दिएको छ। सहभागीहरूले व्यावसायिक ज्ञान प्राप्त गर्दै व्यवसाय सुरु गर्ने संकल्प व्यक्त गर्नु तालिमको सफलताको प्रमाण हो।