
नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा “प्रभाकर”ले पत्रकारमाथि पक्राउ पुर्जी जारी गरिएको घटनालाई प्रेस स्वतन्त्रता र नेपालको संविधानको मूल मर्मविपरीत भएको बताएका छन्। उनले यस्ता गतिविधिहरू तत्काल स्तगित गर्नुपर्ने माग गरेका छन्।
नेता शर्माले आफ्नो आधिकारिक फेसबुक स्टाटसमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “समाचार लेखे बापत पत्रकारलाई पक्राउ पुर्जी जारी गर्नु प्रेस स्वतन्त्रता एवं संविधान विपरीत कार्य हो। यस्तो कदम स्तगित गरियोस।”
उनले थप स्पष्ट पारेका छन् कि यदि कुनै समाचार गलत रूपमा प्रकाशित भएको भए, त्यसको समाधानका लागि प्रेस काउन्सिल नेपालमार्फत आवश्यक प्रक्रिया अघि बढाउन सकिने संवैधानिक प्रबन्धहरू अवस्थित छन्।
शर्माको भनाइ अनुसार, प्रेसमाथिको दबाब, डर तथा प्रतिशोध मूलक कार्यहरूले लोकतन्त्र कमजोर पार्ने खतरा बढ्ने हुँदा सम्बन्धित निकाय र सरकारलाई संयमित र संवैधानिक मर्यादा अनुसार अघि बढ्न आग्रह गरिएको छ।
हालै एक सञ्चारकर्मीमाथि प्रहरी प्रशासनद्वारा जारी गरिएको पक्राउ पुर्जीको खबर सार्वजनिक भएपछि देशभरका सञ्चारकर्मी, मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूले सामाजिक सञ्जाल र विभिन्न मञ्चमार्फत आक्रोश व्यक्त गर्दै कारबाहीको विरोध गरेका छन्।
यस विषयमा सरकार पक्षबाट भने औपचारिक प्रतिक्रिया आउन बाँकी छ।