कुलमानको उज्यालो नेपाल पार्टी समानुपातिकतर्फको निर्वाचन प्रणालीमा छुट्ने

नागरिक पाना
२०८२ पुष २६, शनिबार १४:५६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको सहकार्य टुंगाएपछि उज्यालो नेपाल पार्टीको तर्फबाट समानुपातिकतर्फको निर्वाचन प्रणालीमा छुट्ने भएको छ ।
आज कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संगको सहकार्य टुंगिएको घोषणा गरेपछि घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् ।

तर रास्वपाबाट समानुपातिकको सूची निर्वाचन आयोगमा पठाइसकेको अवस्थामा कुलमान रास्वपाबाट बाहिरीएपछि उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा छुट्टै बन्दसूची नबुझाएको अवस्थामा यस्तो अवस्था सिर्जना भएको हो ।

बन्द सूची बुझाउने अन्तिम दिन गत पुस १४ रास्वपा र उज्यालो नेपाल पार्टीबीच सहमति भएपछि रास्वपाको तर्फबाट सूची बुझाएको थियो । अब समानुपातिकको बन्दसूची बुझाउने समय सकिइसकेको छ । अब उज्यालो नेपाल पार्टीको तर्फबाट प्रत्यक्षतर्फका मात्र उम्मेदवार हुनेछन् ।

अध्यक्ष कुलमान घिसिङले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने घोषणा पनि शनिबार गरिसकेका छन् । रास्वपाको तर्फबाट बुझाएको बन्दसूचीमा १४ जना उज्यालो नेपालतर्फका उम्मेदवार थिए ।

‘अब पार्टी नै विभाजन भएपछि रास्वपाको सूचीमा रहेकाहरू या त रावस्वपामै बस्नुपर्‍यो वा छोडेर हिँड्नुपर्‍यो,’ आयोगका एक पदाधिकारीले भने, ‘उनीहरू छोडेर पुस २८ व्यक्तिगत रुपमा नाम फिर्ता लिए भने रास्वपाले आफ्नो नाम थप्न पाउँछ । तर उज्यालो नेपालका चाहिँ कोही पनि समानुपातिक उम्मेदवार हुँदैनन् ।’ यो प्रश्नको सामना आजैमात्रै अध्यक्ष बनेका घिसिङले पत्रकार सम्मेलनमै सामना गर्नुपरेको थियो । जहाँ उनले सकेसम्म मिलाउने नसकेको खण्डमा प्रत्यक्षतर्फ मात्रै उम्मेदवार खडा गर्ने बताइसकेका छन् ।