निर्माण व्यवसायीको लापरबाहीले दुईको ज्यान गयो: १० महिना बित्दा पनि पीडित परिवारले पाएनन् क्षतिपूर्ति

नागरिक पाना
२०८२ चैत्र १६, सोमबार ०३:१४

दार्चुला । दार्चुलाको मार्मा गाउँपालिका–५ मा सडक निर्माणका क्रममा भएको गम्भीर लापरबाहीका कारण दुई जनाको ज्यान गएको घटनामा निर्माण कम्पनीले अझैसम्म क्षतिपूर्ति नदिएको खुलेको छ।
गत २०८१ जेठ १३ गते तपोवन–मुरै–विनायक–सिप्टी सडक खण्ड निर्माणका क्रममा ग्वालेक निर्माण सेवाले जथाभावी थुपारेको माटो र ढुङ्गा वर्षासँगै बगेर आउँदा पहिरोमा पुरिएर दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। तर, घटना भएको लामो समय बितिसक्दा पनि निर्माण व्यवसायीले पीडित परिवारलाई कुनै राहत वा क्षतिपूर्ति उपलब्ध नगराएको पाइएको छ।
के भएको थियो घटना? सडक खण्ड निर्माणको जिम्मा पाएको ग्वालेक निर्माण सेवाले सडक खण्डमा थुपारेको माटो र ढुङ्गाको उचित व्यवस्थापन नगरेका कारण अविरल वर्षासँगै भल बनेर गन्याड खोलामा खसेको थियो। सोही पहिरोमा पुरिएर मार्मा–५ गन्याड टोलका अमर राम टमटाका ६ वर्षीय छोरा ऐन बहादुर बी.क. र स्थानीय झुपा टमटाको दुखद मृत्यु भएको थियो।
पीडितको गुनासो: “हाम्रो पीडा कसैले सुनेन” छोरा गुमाएका पीडित अमर राम टमटाले नागरिक पानासँग कुरा गर्दै निर्माण कम्पनीको लापरबाहीले आफ्नो परिवार उजाडिएको भए पनि हालसम्म कुनै क्षतिपूर्ति नपाएको गुनासो गरे। “सडक खन्दा लापरबाहीपूर्ण तरिकाले माटो थुपारिएका कारण मेरो छोराले ज्यान गुमाउनु पर्यो, तर निर्माण सेवाले अहिलेसम्म हाम्रो आँसु पुछ्ने काम गरेको छैन,” उनले भने।
वडा कार्यालयको सिफारिस, कार्यान्वयनमा ढिलाइ मार्मा गाउँपालिका वडा नं. ५ को कार्यालयले समेत उक्त घटना सडक निर्माणका क्रममा थुपारिएको माटो र ढुङ्गाका कारण भएको स्वीकार गर्दै पीडित परिवारलाई राहत उपलब्ध गराउन सम्बन्धित निकायमा सिफारिस गरिसकेको छ। कार्यवाहक वडा अध्यक्ष हरक सिंह महताद्वारा हस्ताक्षरित पत्रमा स्पष्ट रूपमा सडक निर्माण योजनाको काम सञ्चालनका क्रममा थुपारिएको माटोका कारण घटना घटेको उल्लेख छ।
स्थानीय बासिन्दाहरूले विकासका नाममा निर्माण व्यवसायीले गर्ने यस्ता लापरबाहीले सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै दोषी निर्माण कम्पनीलाई कारबाही र पीडितलाई तत्काल उचित क्षतिपूर्तिको माग गरेका छन्।