भूकम्पपीडितका लागि नमुना बस्ती निर्माण: छिमेक समाज सेवा संस्थाको आर्थिक सहयोगमा चिउरीमा पुनर्निर्माण कार्य तीव्र

नागरिक पाना
२०८२ श्रावण २१, बुधबार ११:३२

 

जाजरकोट, नलगाड ,भूकम्पले थिलथिलो बनाएको जाजरकोटको नलगाड नगरपालिका–१ स्थित चिउरी गाउँमा अब पुनः जीवन बन्दैछ। नलगाड नगरपालिका र छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको पहलमा छिमेक समाज सेवा संस्था काठमाडौंको आर्थिक सहयोगमा निर्माण गरिएको छिमेक चिउरी मिलन चोक नमुना बस्ती पुनर्निर्माणको उदाहरण बनेको छ।

‘शिक्षित र समृद्ध समाज एवं सुरक्षित आभास, हाम्रो अभियान ’ भन्ने नाराका साथ सुरु गरिएको यस पुनर्निर्माण अभियानले भूकम्पबाट विस्थापित भएका परिवारहरूका लागि आशाको दियो बालिदिएको छ।

यस अभियान अन्तर्गत बस्तीमा आवासीय घरहरू निर्माण सम्पन्न भइसकेका छन् भने अब भान्सा घर तथा आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यले बाख्रापालनका लागि आधुनिक खोरहरू निर्माण भइरहेका छन्। साथै, बस्तीको पहिचान र सामाजिक चेतनाको सन्देश दिन होडिङ बोर्ड समेत स्थापना गरिएको छ।

छिमेक समाज सेवा संस्थाले निर्माण गरेको बस्तीका बासिन्दा – छिमेकीहरू – ले यो प्रयासलाई जीवनको पुनः सुरुवातको रूपमा लिएका छन्। यस्ता परियोजनाले भूकम्पजस्ता विपद्‌मा परेको समुदायको मनोबल उच्च बनाउनुका साथै सामाजिक उत्थानमा समेत ठूलो योगदान पुर्‍याउने देखिएको छ।

छिमेक समाज सेवा संस्थाका अध्यक्ष रामचन्द्र जोशी भन्छन्:

“नेपालमा रहेका अति विपन्न परिवार र समुदायको शैक्षिक, आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले हामीले यो नमुना बस्ती निर्माण गरेका हौं।”

त्यस्तै, संस्थाका प्रबन्ध सञ्चालक उदयराज खतिवडा का अनुसार:

“हामीले प्राकृतिक प्रकोपबाट बाँचौं र बचाऔं भन्ने चेतनामूलक जागरण सहित भूकम्प प्रतिरोधी घर निर्माणमा आर्थिक सहयोग गर्दै आएका छौं। गाउँगाउँमा नमुना बस्ती निर्माणमा स्थानीय जनसमुदायलाई सक्रिय रूपमा सहभागी गराउँदैछौं। अबका दिनहरूमा हामी जैविक गाउँ निर्माणको जागरण अभियान पनि सञ्चालन गर्दैछौं, जसले आर्थिक, सामाजिक र वातावरणीय रुपमा दीगो विकासलाई टेवा पुर्‍याउनेछ।”

यस अभियानलाई निरन्तरता दिँदै भविष्यमा अन्य विपद्‌पीडित क्षेत्रहरूमा समेत यस्ता नमुना बस्ती विस्तार गर्ने योजना छिमेक समाज सेवा संस्थाले बनाएको जानकारी संस्थाका संयोजक एल. बि. कार्कीले दिनुभएको छ।