हर्क साम्पाङलाई World Book of Records बाट सम्मान, सरकारबाट भने अपमानको गुनासो

नागरिक पाना
२०८२ श्रावण २३, शुक्रबार ०१:०६

धनकुटा — विश्व पुस्तक कीर्तिमान संस्था World Book of Records London ले हर्क साम्पाङ राई र उनको जन-सघर्ष तथा श्रमदान अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा चिन्दै सम्मानित गरेको छ। तर, आफ्नै देशको सरकारले भने उनको अभियानलाई निरन्तर अपमानित गर्दै आएको भन्दै राईले गुनासो पोखेका छन्।

सामाजिक सञ्जाल फेसबुक मार्फत् बोल्दै उनले भने, “World Book of Records London ले मलाई र मेरो अभियानलाई चिन्यो, सम्मान गर्‍यो। तर मेरो देशको सरकारले मलाई सँधै अपमान गरिरह्यो, मेरो अभियानलाई गैरकानुनी भन्दै मुद्दा माथि मुद्दा थोपरिरह्यो!”

तरपनि, राईले आफू कहिल्यै नथाकेको, नहारेको र नडगमगाएको बताएका छन्। “मैले कहिल्यै थाकें, गलें भनेनँ, हरेस खाइँन, अविचलित बनी सबैलाई जुट्ने आह्वान गरिरहेँ,” उनले लेखेका छन्।

उनले अगाडि भनेका छन्, “अब मेरो श्रम र श्रमदानको अभियान यो देशको केन्द्रीय नीतिमा लेख्न जाँदैछु। मलाई साथ दिनुहोस्! देश चाहिन्छ भन्ने जति जुटौँ!”

हर्क साम्पाङ राई लामो समयदेखि सामुदायिक श्रमदान, सफाइ, खानेपानी, वातावरण संरक्षण र स्थानीय जनसहभागितामा आधारित अभियानहरूमा सक्रिय छन्। उनले बिना सरकारी बजेटको पनि जनतासँगै हातेमालो गर्दै समाज परिवर्तनको नमूना प्रस्तुत गरेका छन्।

राईको यो सन्देशले देशभरिका युवाहरूमा फेरि एकपटक राष्ट्रसेवामा समर्पित भएर जुट्न प्रेरणा दिन सक्ने देखिन्छ। अब यो अभियान केन्द्रीय नीतिमा कसरी रूपान्तरण हुन्छ भन्नेमा जनताको चासो बढ्दै गएको छ।